‘काँग्रेसलाइ लोकतन्त्रको पाठ सिकाउनु पर्दैन’

0
Shares

प्रचण्डको प्रश्न–डा. केसीलाई मारेर कांग्रेसले राजनीति गर्न खोजेको हो ?

काठमाडौं ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले आफूहरुलाई लोकतन्त्रको पाठ सिकाउनु नपर्ने बताउनुभएको छ । उहाँले कांग्रेस बाहेक अन्य पार्टी सरकारमा रहदा अधिनायकवाद देख्ने ऐतिहासिक परम्परा नै रहेको बताउनुभएको हो ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४०औँ स्मृति दिवसका अवसरमा नेकपा सचिवालयले सोमवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काँग्रेसले अहिले निर्वाचन जितेर आएको कम्युनिष्टको सरकारलाई अधिनायकवादी भन्नु युक्तिसंगत नभएको बताउनुभयो । प्रतिक्रियावादी शक्तिहरु छिट्टै हड्बडाउँछन, प्रतिपक्षमा हुनेबित्तिकै आत्तिन्छन, काँग्रेसमा लोकतान्त्रिक प्रतिपक्षको अनुभव देखिएन, उहाँले भन्नुभयो ।

विगतमा कांगे्रसले सरकार चलाउँदा वामपन्थीलाई अनावश्यक रुपमा थुन्ने र शिक्षक कर्मचारीलाई बर्खास्त गरेको स्मरण गर्दै उहाँले लोकतन्त्र ल्याउन कम्युनिष्टहरुले जेलनेल गरेको इतिहास जीवितै रहेको बताउनुभयो ।

उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसजस्तो लोकतान्त्रिक पार्टीले अन्य कार्यसूची नपाएर प्रा डा गोविन्द केसीको पुच्छर लाग्नु विडम्बना नै भएको बताउनुभयो ।

दुई तिहाइको समर्थन प्राप्त सरकारलाई काम गर्न नदिन विभिन्न बहानाबाजी र कुतर्क गरिएकाका छन, अब काँग्रेसको अस्तित्व समाप्तिको दिशामा पुगेको छ, प्रचण्डले भन्नुभयो । कांगेसलाई प्रश्न गर्दै प्रचण्डले भन्नुभयो–के काँग्रेसले डा केसीलाई मारेर लाशको राजनीति गर्न चाहेको हो ? यही बुद्धि र तरिका हो भने काँग्रेस अब इतिहासको विषय बन्न धेरै बेर लाग्दैन ।’

अध्यक्ष प्रचण्डले नेकपा एकताको अभियान चलाएर दशगुणा शक्ति लिएर आउँदै गरेको बताउदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई काँग्रेसले प्राडा केसी अनशनका नाममा मास्न खोजेको हो कि भन्ने आशंका पैदा भएको बताउनुभयो ।

पुष्पलालको नेतृत्वमा विसं २००६ वैशाख ९ गते नेकपाको स्थापना भएको थियो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी) को एकतापछि एकीकृत पार्टीको आयोजनामा पहिलो पटक पुष्पलाल स्मृति दिवस मनाइएको हो । पुष्पलालको निधन २०३९ साउन ७ गते भएको थियो । पुष्पलालले विश्व कम्युनिष्ट आन्दोलनको घोषणापत्रलाई नेपालीमा अनुवाद गर्नाका साथै सामाजिक न्यायसहितको समाजवादको नीति अघि सार्नुभएको थियो ।