नेपाली महिला बन्धक प्रकरण: बनारसमा छापा, कोठा सिफ्ट

0
Shares

बाँके । भारतको बनारसमा एक सय पचास बढी नेपाली महिलालाई बन्धक बनाइएको सूचना आएपछि जिल्ला प्रशासन कार्यालय, बर्दियाको टोलीले त्यहाँ पुगेर छापा मारेको छ ।

बनारसको नथुनी बजारमा नेपाली महिलालाई बन्धक बनाइएको त्यहाँबाट फर्केका दुई महिलाले भने अनुसार जिल्ला प्रशासन कार्यालय, बर्दियाको टोलीले छापा मारेको हो । बर्दिया मधुवन नगरपालिकाकी २८ र ३२ वर्षका महिलालाई ११ दिनपछि दलालले फिर्ता पठाएका थिए । यी महिलाका घरपरिवारले उद्धारका लागि प्रहरी र माइती नेपालमा निवेदन दिएपछि दलालले यिनीहरुलाई उक्त निवेदन फिर्ता लिन भन्दै घर पठाइदिएका थिए ।

नथुनी बजारको हनुमान मन्दिर नजिक नेपाली महिलालाई बन्धक बनाएर राखिएको दुई महिलाको भनाई र माइती नेपालका साझेदार भारतका राजीव सिंहको टोलीले केही दिनदेखि ‘रेकी’ गरेको घरमा जिल्ला प्रशासन कार्यालय, बर्दियाका प्रशासकीय अधिकृत अर्जुन सुवेदी, डिएसपी युवराज खड्काको टोलीले भारतीय प्रहरीको सहयोग लिएर छापा हानेका थिए ।
दलालले नेपाली महिलालाई बीजीपीका युवा नेता पप्पु भन्ने जयसिंहको घरमा बन्धक बनाएर राखेका थिए । नेपाली र भारतीय प्रहरी टोलीले त्यहाँ छापा मार्दा नेपाली महिलालाई अन्तै सारिसकेको पाइएको छ ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले नेपाली महिलालाई बन्धक बनाइएको घर पत्ता लगाएर छापा मार्दा उनीहरुलाई अन्यत्र स्थानान्तरण गरिसकेकाले फेला पार्न नसकेको बताए । ‘हाम्रो टोलीले घरबेटीलाई समातेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ, प्रजिअ कुरुम्बाङले भने ।

११ दिनदेखि सँगै राखिएका दुई महिलालाई घर फिर्ता गरेपछि दलालले नथुनी बजारबाट कोठा सारेको पाइएको छ । महिलाको भनाई अनुसार माइती नेपालसम्बद्ध ‘सट्सेक’का सदस्य राजीव सिंहको टोलीले केही दिनदेखि नै रेकी गरिरहेको थियो । माइती नेपाल, नेपालगञ्जका प्रमुख केशव कोइरालाले नेपाली महिलालाई बन्धक बनाएर राखेको घर पत्ता लगाएपनि उनीहरुलाई अन्यत्र सारेकाले फेला पार्न नसकेको बताए । बन्धक बनाइएका महिला फेला पर्ने अवस्था आएमा भारत जानका लागि माइती नेपालको टोली तम्तयार भएर बसेको थियो ।

भारत हुँदै खाडीमुलुक जानका लागि बाँके, बर्दिया, धादिङ, सुनसरी, इलाम, झापाका महिलाहरु बनारसमा पु¥याइएको थियो । उनीहरुलाई नेपालगञ्जको बाटो भएर लगिएको थियो । महिलालाई दलालले आफैले पासपोर्ट बनाइदिएर लगेका थिए । ११ दिन बन्धक बनेर फर्किएका महिलाका अनुसार, दलालले दैनिक ५÷७ जनालाई बाहिर लैजाने गर्दथ्यो । अरुलाई तिमीहरुको भिसा नआएको भन्दै कोठामा राख्ने गर्दथ्यो । उनीहरुले मेसमा खाना खाना बनाएर खाने गर्दथे ।

राम्रो काम र दामको नाममा नेपाली महिलाहरु खाडीमुलुक जानका लागि दलालसँग जोखिमपूर्ण यात्रामा निस्किने गर्दछन् । नेपालगञ्ज नाकामा आधा दर्जन संघ संस्था र प्रहरीको आँखा छलेर उनीहरुले नाका पार गर्दछन् । कतिपयले खाडीमुलुकमा दुःख पाएपछि घरमा सम्पर्क गरेर उद्धार गरिदिन भन्छन् भने केही घरपरिवारको सम्पर्कमा नआउने गरेको पाइन्छ । माइती नेपाल, नेपालगञ्जमा मात्रै नौ सय हाराहारीमा वार्षिक खोजतलासका लागि निवेदन आउने गरेको छ ।