सडक छेउका बस्तीहरु जोखिममा

0
Shares

विमल विष्ट, डोटी
सायल गाउ“पालिकाको छपाली बिनेबडाका हरिमल भुलको घर गत बर्ष साउनमा पहिरोले भत्कायो । चार बर्षीया छोरी मनिसा भुलको घरभित्रै पहिरोले च्यापीएर मृत्यु भयो । हरिमल भुल र उनकी श्रीमती जमुना भुल गम्भीर घाईते भइन् । घरको सिरानीमा रहेको सडकको ट्रयाक खोल्दा खुकुलो भएको पहाड मध्यरातमा घरमाथि खस्दा उक्त दुर्घटना भएको हो । आकाश मडारिन लाग्दा अहिले पनी हरिमल भुलको होस हराउछ । त्रासले काप्दै छिमेकीहरुका घरतिर उनी सहारा लिन जान्छन् ।

सोही गाउपालिकाको डौड गाउका डम्बरबहादुर विष्टले ०७३ साउनमा एकै रात ३५ वर्षीया श्रीमती गौरादेवी विष्ट सहित पाच सन्तान गुमाए । सोही गाउकी ०७५ बर्षिया सिंहको पनि मृत्यू भयो । पहिरोले बिष्टका छोराहरु हर्क,वीरेन्द्र तथा छोरीहरु सरु र भावनालाई गुमाएको घटनाले अहिले पनि छटपटी बढाउछ ।

‘डाडै डाडामा डोजरहरुको आंतक चल्यो, कम्जोर जमिन चिरा चिरा प¥यो’, विष्टले भन्नु भयो, ‘डाडाको मध्यभागमा रहेको मेरो घरमा पहिरो खस्दा मेरी जिवनसंगिनी गुमाए, रहरलाग्दा सन्तान सधैका लागि टाढिए ।’ यि केही बिगतका उदाहरण मात्र हुन् । डोटीमा बर्षेनी बाढीपहिरोबाट ज्यान गुमाउने क्रम बढ्दै गएको छ । मानवबस्तीमा भइरहेका थुप्रै मानवीय गतिबिधीहरुले प्राकृतिक बिपत्ति बढाउदै लगेको छ । पछिल्लो समय हचुवाका भरमा खोलीएका ग्रामिण सडकका कारण बिपत्ति आउने गरेको आदर्श गाउपालिका वडा नं. १ का शिक्षक नर बहादुर खड्का बताउनु हुन्छ । सडक छेउछाउ रहेका बस्तीहरु उच्च जोखिममा रहेका छन् ।

निरन्तर रुपमा सडकको माटो बगेर घरखेतमा पस्ने, खोलानाला पुरिने क्रम बढ्दै गएकाले बस्तीहरु जोखिममा परेको उहाँले बताउनु भयो । जिल्ला दैवी प्रकोप उद्धार समिति डोटीले सडक छेउमा बसोबास गर्ने स्थानियबासीलाई सतर्क रहन आग्रह गरेको छ । डोटीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवको संयोजकत्वमा रहेको दैवी प्रकोप उद्धार समितिले जोखिममा रहेका बस्तीहरुको सुरक्षाका लागि जनप्रतिनिधीहरु मार्फत सतर्क रहन आग्रह गरेको हो । प्रजिअ यादवले सडक छेउछाउका उच्च जोखिममा रहेका बस्तीहरुको पहिचान समेत गरिरहेको बताउनु भयो । डोजरले अन्धाधुन्ध खोलीएका ग्रामिण सडकहरुको माटो बगेर घर खेतमा पसिरहेको र पहिरो खस्ने क्रम तिब्र छ । सडकछेउमा नाली नबनाएका तथा पहाड छोेलेर बनाएका ठाउमा पहिरो खस्दा केही ग्रामिण सडकहरु अवरुद्ध भइसकेका छन् ।

जिल्लाका जोरायल, केआईसिंह, सायल, बोगटान, पुर्बीचौकी गाउपालिकाका तथा शिखर नगरपालिकाका १८ बस्तीका झण्डै ४ सय परिवार जोखिममा रहेका छन् । जिल्ला भू संरक्षण कार्यालयका प्रमुख दामोदर ऐरका अनुसार उत्तरी क्षेत्रमा रहेका डौड, तोलेनी, गिरिचौका, छपाली गाउका बस्तीहरु पहिरोको उच्च जोखिममा छन् । त्यसैगरी शिखरनगरपालिका,दिपायल सिलगढी नगरपालिका, केआईसिंह र बोगटान गाउपालिकाका बनलेक, तलकोट, दिपायल, रानागाउ, तिखात्तर, गगुडा, चवराचौताराका बस्तीहरु नदि कटान र पहिरोको जोखिममा रहेको उहाँले जानकारी दिनु भयो ।

त्यस्तै जोरायल गाउपालिकाका लक्ष्मीनगर र सरस्वतीनगर तथा बडीकेदार गाउपालिकाको बर्छैन, बिपीनगर लगायतका बस्ती उच्च नदि कटानको चपेटामा परेका छन् । ‘सडकको माटो बगेर खोल्सा तथा खोलाहरु पुरिएका छन्’,जिल्ला भू संरक्षण कार्यालय डोटीका प्रमुख दामोदर ऐरले भन्नु भयो ‘बस्तीको सिरानीमा रहेका डाडाहरुबाट सडक लैजादा तथा बिकासका पूर्वाधारहरु बनाउदा बर्षायाममा गाउमा लेदो माटो पस्ने, पहिरो खस्ने लक्षणले स्थानिय आतंकित हुन थालेका छन् ।’

सिमित ब्यक्तिहरुको स्वार्थ र अध्ययनबिना खोलीएका सडकहरुले दुरगामी असरहरु देखाउन थालिसकेकाले सरोकारवालाहरुले कडा कदम चाल्न जरुरी रहेको उहाँको सुझाव छ । केआईसिंह गाउ“पालिकाको बासुदेवी, जोरायल गाउपालिकाको जलजला, शिखर नगरपालिकाको बनलेक क्षेत्रमा बिकासका पूर्वाधार बनाउने क्रममा बगेको माटोले खेत नै पुरिदिएको बताईएको छ ।