नेपाल समाचारपत्र, विराटनगर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले डा. गोविन्द केसीको मागप्रति सरकार संवेदनशील नभएकै कारण कांग्रेसले आन्दोलन गर्न बाध्य हुनुपरेको बताएका छन् । केपी ओली नेतृत्वको सरकार इतिहासमै सबैभन्दा संवेदनहीन सरकार भएको लेखकले बताए ।
नेपाल प्रेस युनियन मोरङले विराटनगरमा सोमबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले डा. केसीको मुद्दा आमनेपाली जनताको भएकाले जनताको मागलाई कांग्रेसले उठाउन खोज्दा त्यसलाई बेठीक भन्न नमिल्ने उल्लेख गरे । “गोविन्द केसीको माग आमनेपाली जनताको माग हो,” उनले भने, “कांग्रेसले जनताको माग पूरा गर्नुपर्छ मात्रै भनेको हो ।”
अहिलेसम्म सरकारका मन्त्रीले केसीलाई नभेटेको उनले बताए । “सरकारका मन्त्रीहरूलाई बंगलादेशमा अध्ययन गर्ने नेपाली छात्राका विषयमा अनर्गल कुरा गर्न फुर्सद छ । तर, गोविन्द केसीलाई भेटेर वार्ता गर्ने फुर्सद छैन,” लेखकले भने, “यहाँभन्दा संवेदनहीन के हुन सक्छ ?” सरकार नेपाली जनताको अभिभावक भएको र गोविन्द केसी पनि नेपाली जनता भएकाले मागप्रति सरकार गम्भीर हुनुपर्ने लेखकको भनाइ थियो । उनले २३ दिनसम्म अनसन बस्दा पनि वार्ताका लागि सरकार गम्भीर नभएको भन्दै डा. केसीसँग वार्ताका लागि सरकारले तत्काल पहल गर्नुपर्नेमा जोड दिए ।
उनले कांग्रेस नेतृत्वको सरकारले ल्याएको अध्यादेश हुबहु पारित भए केसी र आमनेपाली जनताको माग पूरा हुने नेता लेखकको कथन थियो । “नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको चिकित्सा सुधार विधेयक वर्तमान सरकार र संसदले स्वीकार गरिसकेको छ,” उनले थपे, “तर स्वास्थ्य क्षेत्रका माफियाहरूको चंगुलमा परेर सरकारले विधेयकलाई फेरि तोडमोड गर्न खोजेको छ । त्यसमै कांग्रेसको विरोध हो ।”
नेता लेखकले कांग्रेसको आन्दोलन सरकार ढाल्न र गिराउन नभई सरकारले गरेको कर वृद्धि र महँगी र गलत कामविरुद्ध भएको प्रष्ट पारे । चार–पाँच महिनाको अवधिमै सरकारले गरेको कामको मूल्यांकन गर्ने बेला नभएको भन्दै तर निषेधाआज्ञाको नाममा लोकतन्त्रलाई कमजोड बनाउने काम भइरहेकाले आन्दोलनमा उत्रिनु परेको उनले बताए । सरकारका पछिल्ला केही क्रियाकलापले संविधान र संघीयता खतरामा पर्ने संकेत देखिएको नेता लेखकले बताएका थिए ।











प्रतिक्रिया