भारतले तरकारीको आयात रोकेपछि कृषक मारमा

0
Shares

गणेश घिमिरे, इलाम
भारतले नेपाली गोलभेंडा सहित अन्य बिभिन्न तरकारी बालिहरुको आयात रोकेपछि इलाम सहित पूर्वी पहाडका कृषकहरु यतिखेर समस्यामा परेका छन् । झापा र तराईका अन्य बजारमा भारतीय गोलभेंडा नै बढि मात्रामा चल्ने भएकाले यहाँका किसानले खेती गरेको गोलभेंडा खपत हुन नसकेको व्यापारीहरु बताउँछन् ।

नेपालबाट पूर्वी प्रमुख सिमावर्ती काँकडभिट्टा नाका भएर भारत निर्यात हुने तरकारीमध्ये सबैभन्दा बढी गोलभे.डाकै रहेको थियो । भारतले रोक लगाएपछि जिल्लाका गोलभेंडा खेती गर्ने सयौं किसान यतिखेर मारमा परेका हुन् । मुख्य सिजनमा बारीमा लटरम्म भएको गोलभेंडा बारीमै कुहिएर जाने अवस्था आएको इलाम रोङ गाउँपालिका ४ कोल्बुङ्गका कृषक अम्बर राईले बताए ।

‘ब्यबसायि गोलभेंडा खेती गरेका छौं, यसैको आम्दानीबाट घर खर्च चलाउँदै आएका थियौं’ कृषक राईले भने ‘तर भारतले बिभिन्न बहाना बनाएर गोलभेंडा निर्यात नगरीँदीदा ब्यपारीहरुले किनेर लान छाड्दा अत्यन्तै ठूलो समस्यामा परेका छौं ।’ कहिले गुणस्तर र कहिले निकासी प्रक्रियाको बहाना बनाएर भारतीय भन्सारले नेपाली कृषिउपज निकासीमा अवरोध गरिरहने क्रममा यो पटक गोलभेंडा निकासी रोकिएको छ । करिब तीन सातायता पूर्वी पानीट्यांकी नाकाबाट गोलभेंडा निकासी ठप्प भएपछि किसान र व्यापारी समस्यामा परेका हुन् ।

झापाका व्यापारीका अनुसार पानीट्यांकी नाकाबाट मात्रै एकै दिनमा एकै व्यापारीले ५० गाडीभन्दा बढी गोलभेंडा निर्यात गर्दै आएका थिए । तर, यो सालदेखि गोलभेंडा र इस्कुस निकासी ठप्पै भएको छ । झापाका व्यपारी विजय चौधरीले किसानको बारीमा गोलभेंडा पाकेर खेर जाने अवस्थामा पुगिसक्दा समेत भारतीय भन्सारले गोलभेंडा निर्यात गर्न नदिएको बताए ।

‘भन्सार कर्मचारीले भारत भित्रयाउने तरकारीको सूचीमा गोलभेंडा र इस्कुस नभएकाले यी तरकारी नल्याउनू भनेका छन्’ ब्यपारी चौधरीले भने । जिल्लाका सूर्योदय, माई, इलाम नगरपालिका सहित माईजोगमाई गाउँपालिकाका बिभिन्न गाउँहरुमा टमाटर र इस्कुसको ब्यबसायिक खेती गर्ने किसान छन् । टमाटर र इस्कुस बेचेरै वर्षमा आठदेखि १२ लाख रुपैयाँसम्म कमाउने किसानलाई यो वर्ष नराम्रोसँग झड्का लागेको छ ।

इस्कुसको मौसम पनि सुरु भइसकेको अवस्थामा अहिले सयौं किसानको बारीमा बेमौसमी इस्कुस माचभरी झुन्डिसकेको छ । तर, बिक्री रोकिएपछि माचमै कुहिने वा ‘कौडीको भाउ’मा बेच्नुपर्ने बाध्यता किसानलाई छ । भारतीय भन्सारका कर्मचारीले बन्दाकोपी र मुलाबाहेक कुनै पनि तरकारीको क्वारेन्टाइन नहुने भन्दै निकासी रोकेका हुन् ।

बन्दाकोपी र मुला निकासीमा समस्या नभएपनि गोलभेंडा, इस्कुस, फूलकोपी र मटरकोसाजस्ता बर्षेनि करोडौं रुपैयाँमा निकासी हुने तरकारीको भारतीय बजार चाहिँ अब बन्द भएको हो । चारआलीका व्यापारीले इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटालगायत पहाडी र पूर्वी तराईका जिल्लामा उत्पादन भएको तरकारी पानीट्यांकी नाकाबाट भारत निर्यात गर्दै आएका थिए । किसानले सधैं भारतीय बजार भर पर्नुपर्दा खेतीको लगानी उठ्ने सुनिश्चितता नभएको किसान बताउँछन् ।

जिल्लाकी अगुवा किसान लिलादेवी भट्टराईले सम्बन्धित निकायबाट किसानले उत्पादन गरेका उपज देशभित्रै खपत हुने वातावरण बनाउन वा निर्यातको स्पष्ट व्यवस्था मिलाउन आग्रह गरीन् । इलाम उद्योग वाणिज्य संघका अध्यक्ष आनन्द कट्टेलले व्यवसायीको तर्फबाट दर्जनौंपटक नेपाल सरकार र भारतस्थित महावाणिज्यदूत समेतलाई पूर्वको कृषिउपज निर्यातमा देखिएको समस्याबारे ध्यानाकर्षण गराएपनि समस्या समाधान हुनुको साटो बल्झिरहेको बताए । नीतिगत रूपमा व्यापार र निर्यात प्रबन्ध स्पष्ट नभएसम्म व्यवसायीले दुःख पाउने कट्टेलको भनाई छ ।