‘कुवेत उडेकी’ पत्नी सुनौलीमा भेटिँदा…

0
Shares

रोशन पराजुली, हेटौंडा
असार २८ गते बिहीबार हेटौंडा–१८, हर्नामाडी एक्लेखेतका धनबहादुर लामाकी ४१ वर्षीया पत्नी कल्पना (नाम परिवर्तन) एकाएक गायब भइन् । पति घलानले भने उनी आफन्तका घरेमा गएकी होलिन् भनेर त्यति खोजीनीति गरेनन् । र, त्यस रात त्यसै बित्यो ।

भोलिपल्ट शुक्रबार विहान करिब ११ बजे घलानको मोबाइलको घण्टी बज्यो । फोन उनकी पत्नीको थियो । फोनमा भनियो–मरो अहिले ११ बजे कुबेतको फ्लाइट छ । म गएँ । फोन कटियो । घलानले एक शब्द पनि जवाफ फर्काउन पाएनन् ।

त्यसपश्चात् घलानले कलब्याक गरे । तर, फोन लागेन । त्यसपछि पनि कल्पनालाई फोन गर्न उनले प्रयास गरिरहे । मोबाइलमा ‘सम्पर्क हुन सकेन’ भन्ने आवाजले घलानलाई दिक्क बनायो । पत्नीको कुरामा उनलाई त्यति विश्वास लागेन ।

घलानले आफू एक्लै यो समस्या समाधान गर्न नसक्ने भएपछि आफन्तलाई खबर गरे । असार ३० गते घलान आफन्तको साथमा काठमाडौं लागे । काठमाडौंमा रहेका आफन्तकहाँ जाँदा पनि अत्तोपत्तो लागेन । उनले काठमाडौं गौशालास्थित प्रहरीमा उजुर गरेर हेटौंडा फर्के । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पनि उनले निवेदन दिए ।

असार ३१ गते रुपन्देही सुनौलीमा भारततर्फ जाँदै गरेको बसमा थ्री एण्ड थ्री नामक सामाजिक संस्थाले सुनौली भन्सारमा बसमा कल्पनालाई भेट्यो । घलानलाई फोन आयो । घलानलाई कल्पना सुनौलीमा भेटिएको करामा त्यति विश्वास लागेन । किनकि, उनी त कुबेत उडेकी मान्छे । घलान अचम्ममा परे । ३२ गते घलान आफन्तको साथमा रुपन्देही पुगे । पत्नीलाई त्यहाँ देख्दा तीनछक परे ।

उनले सहयोगी संस्थालाई धन्यवाद दिने क्रममा पो थाहा पाए कि कल्पनालाई भारतको दिल्लीमा बेच्न लगिँदै रहेछ । संस्थाका केही व्यक्ति र रत्ना लामाको साथमा घलान कल्पनालाई लिएर हेटौंडा फर्के ।

कल्पनाका अनुसार विगत १५÷१६ वर्षदेखि चिनजानमा रहेकी हर्नामाडी ठूलोदमारकी ज्ञानु लामाकै सम्पर्कमा ज्ञानुकी बहिनी रत्ना लामासँग कल्पनाले नम्बर दिइन् । उनीहरु सम्पर्कमा रहे । कल्पनाले रत्नालाई फोन गरेरे विदेश जाने कन्फर्म गरिन् । लामाले काठमाडौं बोलाइन् । असार २८ गते घरबाट हिँडेपछि सीधै काठमाडौं गए र रत्ना लामा बल्खुमा लिन आइन् । उनीहरु रत्नपार्कको एक होटलमा बसे ।

कल्पना बिहीबार र शुक्रबार होटलमै बसिन्, जहाँ मीरा तामाङ, रत्ना लामा, डोल्मा लामा पनि थिए । उनले त्यस समयमा रत्नालाई ७५ हजार रुपियाँ नगद र मेडिकल चेकको ५ हजार गरी ८० हजार खर्च गरिन् । असार ३० गते विहान ५ बजे स्वयम्भुमा कल्पनालाई ‘भारतबाट कुबेत जाने व्यवस्था मिल्छ’ भनियो ।

कल्पनालाई भारत जाने समयमा रत्नाले मेडिसिन झोला, चिउराको झोला र धागोको झोला बोक्न लगाइएको थियो । ती झोला भारत पुगेपश्चात् लिन आउनेलाई मान्छे पहिचानमा सहज होस् भनी दिइएको थियो । रत्नाले कल्पनालाई सिकाइन्–कसैले सोधे भने भारतमा दाइको घरमा जान लागेको भन्नू । कल्पनाले सजिलै मानिन् ।

रत्नाले उनलाई स्वयम्भुमा पुरी÷तरकारी खुवाएर मक्ख पारिन् । आफू पनि भारततर्फ बस चढिन् । रुपन्देही पुग्नासाथ लामाको कल्पनालाई भारतमा बेच्ने सपना सामाजिक संस्थाले उडाइदियो ।
सबै कुरा सुन्ने र कल्पनालाई बेच्ने कार्यमा संलग्न ज्ञानु, ज्ञानुकी बहिनी रत्ना, डोल्मा र मीरालाई मानव बेचबिखन मुद्धा दर्ता गरिएको छ । ३ महिला मकवानपुर प्रहरी हिरासतमा छन् भने ज्ञानुलाई तारिखमा छाडिएको छ ।

करिब ३० वर्षीया डोल्मा काठमाडौं गोकर्णेश्वर नपा–५ मा बस्छिन् । उनले नै ललाइफकाइ वैदेशिक रोजगारीका लागि इराक पठाइदिने प्रलोभन दिएको प्रहरीले जनाएको छ । डोल्मासहितलाई मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ बमोजिम मकवानपुर जिल्ला अदालतबाट ६ दिन म्याद अनुमति लिएर आवश्यक कारबाही भइरहेको छ ।