कर बृद्धिको विरोधमा काँग्रेस नुवाकोटले आन्दोलन गर्ने

0
Shares

नेपाल समाचारपत्र, नुवाकोट
नेपाली काँग्रेस नुवाकोटले बिदुर र बेलकोटगढी नगरपालिका लगायत जिल्लाका स्थानीय तहहरुले आम सर्बसाधारणलाई प्रत्यक्ष मर्का पर्ने गरी एकिकृत सम्पत्ती करको दायरा अप्रत्याशित रुपमा बढाएको भन्दै तत्काल निर्णय फिर्ता लिन संबन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

 

आईतवार बसेको पार्टी पदाधिकारी र जनप्रतिनिधीहरु सहितको काँग्रेस बैठकले दुई नगरपालिका सहित पंचकन्या, ककनी र तारकेश्वर गाउँपालिकाले एकसय प्रतिशत देखि एकहजार प्रतिशत सम्म कर बढाएको उल्लेख गर्दे एक हप्ता भित्र निर्णय फिर्ता लिन संबन्धित स्थानीय तहहरुको ध्यानाकर्षण गराएको छ । बैठकले एक हप्ता भित्र निर्णय फिर्ता नभएर सशक्त बिरोध गर्ने र पार्टीको तर्फबाट स्थानीय तहमा निर्वा्चित जनप्रतिनिधीहरुलाई साबिक बमोजिम नै कर उठाउने ब्यव्स्था मिलाउन निर्देशन दिने निर्णय गरेको नुवाकोट काँग्रेसका सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिए ।

यसैबिच नेपाली काँग्रेसको तर्फबाट बिदुर नगरपालिकाका ६ वटा वडाहरुमा निर्वा्चित वडा अध्यक्षहरुले आफ्नो वडाहरुमा साबिकै सम्पत्ती कर मात्र उठाउने र जनतालाई प्रत्यक्ष मार पर्ने कुनै पनि निर्णय कार्यान्वयन नगरिने स्पष्ट पारेका छन् । वडा नम्वर २ का बिरेन्द्रकुमार शाही, वडा नम्वर ३ का बद्रीप्रसाद रिमाल, वडा नम्वर ७ का महेन्द्र तामाङ, वडा नम्वर ८ का फैसिंह तामाङ, वडा नम्वर १० का गणेशकुमार नेपाल र वडा नम्वर १३ का दलबहादुर तामाङले सम्पत्ती कर बढाउन नहुने पक्षमा उठाईएको आवाज बहुमतको नाममा मत्थर बनाउने खेल भएको भन्दै आफ्नो वडाहरुमा स्थानीय निकायको निर्वाचन भन्दा पहिले संकलन हुँदै आएको कर मात्र उठाउने स्पष्ट पारे ।

अत्यधिक रुपमा बृद्धी गरिएको एकिकृत सम्पत्ती कर फिर्ता गराउन आफुहरु निरन्तर प्रयत्नशील रहिरहने पनि वडा अध्यक्षहरुको भनाई थियो । यस अघि बिदुर नगरपालिकाले नगरपरिषद मार्फत एकिकृत सम्पत्ती करको दायरा बढाएको थियो । नगरपरिषदको निर्णय कार्यान्वयन भएमा स्थानीयहरुले बार्षिक दुईसय रुपैयाँ देखि ५४ हजार रुपैयाँ सम्म कर तिर्नुपर्ने छ ।