मेलम्चीको पाइप सफा गर्ने कार्य जारी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
मेलम्ची खानेपानी उपआयोजना–२ ले उपत्यकाका विभिन्न स्थानमा बिछ्याइएको खानेपानीका पाइपलाइनहरू सफा गर्ने कार्य जारी राखेको छ ।

बाग्मती खोलाको पानी सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रमा लगेर प्रसोधन गरी पाइप लाइन सफा गराइएको निर्देशनालयले जनाएको हो ।

आयोजना कार्यान्वयन निर्देशनालयअन्तर्गत रहेको सो उपआयोजनाले पहिलो चरणअन्तर्गत ११ किलोमिटरको सुन्दरीजल–धोविखोला खण्डमा गत असार अन्तिम सातादेखि मुख्य पाइपलाइन सफा गर्र्ने काम गरिरहेको निर्देशनालयका आयोजना उपनिर्देशक दिवाकार ढकालले जानकारी दिनुभयो ।

सो खण्डको मुख्य पाइप लाइन सफा गर्ने काम साउनको अन्तिम साताभित्र सम्पन्न गर्ने योजनासहित अघि बढिरहेको उहाँले बताउनुभयो ।
मुख्य पाइपलाइन सफा गर्ने क्रममा पाइपभित्र टाँसिएको फोहोर सफा गर्ने, पाइपको ज्वाइन्टमा पानी चुहिएको नचुहिएको हेर्ने, पानी चुहिएमा टालिदिने, पानीको प्रेसर जाँच गर्ने काम भैरहेको जनाइएको छ ।

उपनिर्देशक ढकालका अनुसार यसपछि धोविखोला–गोंगबु, बाग्मती–धोलाहिटि लगायत ८ खण्डको मुख्य पाइप लाइन सफा गरिने छ । यी सबै खण्डमा काम सम्पन्न गर्न अझै ४ महिना लाग्नेछ ।

यसैबीच दशैँअघि मेलम्चीको पानी राजधानीबासीलाई खुवाउने भनिए पनि राजधानीमै मेलम्चीको काम सोचेजस्तो गतिमा भएको छैन ।
निर्देशनालयका अनुसार ६१ किलोमिटर बिछ्याउनुपर्ने मुख्य पाइप लाइनमध्ये ५८ किमि र ७ सय ८३ किमि बिछ्याउनुपर्ने शाखा पाइपमध्ये ७ सय २५ किमि बिछ्याइसकिएको छ ।
यसैगरी ७० हजार जनसंख्याको घरधुरीमा जडान गर्नुपर्ने पानीको धारामध्ये ५३ हजार ९ सय भन्दा बढी धारा जडान भैसकेको छ ।

खुमल्टार, बाँसबारी, महाँकाल र बालाजुको पानीपोखरीको निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ भने कटुञ्जे, महाराजगञ्ज र आरुबारीमा पोखरी निर्माणाधीन रहेको छ ।