सुन चोरी गर्ने सहित किन्ने पनि समातिए


नेपाल समाचारपत्र, काठमाडौँ ।

सुन र नाँदी चोरीमा संलग्न दुर्इ व्यक्तिसहित चोरीका सुन र नाँदी खरिद गर्ने तीन व्यक्ति गरी ५ जनालार्इ प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१४ कलंकी स्युचाटारबाट साउन ४ गते चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरी सोधपुछ गर्दा उक्त विवरण खुल्न आएको बुझ्नमा पाईएको छ ।
पक्राउ पर्नेमा काठमाडौंको बसन्तपुर बस्दै आएका सर्लाहीका २२ वर्षीय आयुष कार्की, बसन्तपुर बस्ने लमजुङका २८ वर्षीय बिष्णु गुरुङ, काठमाडौं चावहिल बस्दै आएका भारत कलकत्ताका ३४ वर्षीय सुनिल राउत, २२ वर्षीय खेकन मतालिक र २७ वर्षीय मनोरञ्जन मण्डल रहेका छन् ।

कार्की र गुरुङलाई काठमाडौं प्रहरी परिसरले चोरीको अभियोगमा पक्राउ गरेको हो भने राउत, मतालिक र मण्डललाई चोरीका सामान खरिद गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
राउत र मतालिकसँग किलागलस्थित सुन पसलका संचालक मण्डलले सुन खरिद गरेको प्रहरीको भनाइ छ । मण्डलको साथबाट ४ तोला ८३ लालको सुनको ढिक्का, चाँदी ११ तोला ३३ लाल र नगद १ लाख ६७ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।