भिन्न भिन्न कारणमा ४ जनाको मृत्यु


कृष्णउदास खनाल, वीरगन्ज ।
पर्साको पर्सागढी नगरपालिका–३ बढनिहारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
करेन्ट लागेर ३५ वर्षीय जुमाद्दिन मन्सुरीको मृत्यु भएको हो । चलिरहेको टिभीलाई समातेर घुमाउन खोज्दा मन्सुरीलाई करेन्ट लागेको थियो ।उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल लैजाँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।मन्सुरीको शव पोष्टमार्टमका लागि अहिले नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।

यसैबीच, वीरगन्ज हेल्थ केयर अस्पतालको लापरबाहीले बच्चाको मृत्यु भएको दाबी आफन्तले गरेका छन् । हेल्थ केयरमा उपचारको क्रममा वीरगन्ज–११, मुर्ली बस्ने रुक्साना खातुनको ७ दिने छोराको गत साउन ५ गते मृत्यु भएको थियो । सामान्य स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि लगिएकोमा अस्पतालको लापरबाहीले नै बच्चाको मृत्यु भएको दावी गर्दै आफन्तले छानबिनको माग गरेका हुन् । यसरी नै वीरगन्ज महानगरपालीका वडा नम्बर २८ लालपर्सामा पोखरीमा डुबेर दाजुभाईको मृत्यु भएको छ ।

भरत साह कलवारका १३ वर्षका छोरा सुमित कुमार साह र ११ वर्षका अमित कुमार साहको आईतबार पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।आईतबार धान रोपाईको लागि खेतमा पानी लगाउन जादाँ बुवा सँगै सहयोग गर्न गएका दाजुभाईहरु नजिकै रहेको पोखरीमा नुहाउन जाँदा पहिला दाई सुमित पोखरीमा डुबेका थिए । संगै रहेका अमितले दाई डुबेको देखेपछि बचाउन जाँदा उनको पनि डुबेर मृत्यु भएको परिवारजनले बताएका छन् । मृतक दाजुभाईको शव पोष्टमार्टमको लागि नारायणी उप–क्षेत्रीय अस्पतालमा राखिएको पर्सा प्रहरीले जनाएको छ ।