नेपाल समाचारपत्र, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आमरण अनशनमा बसेका डाक्टर गोविन्द केसीलाई वार्तामा बसेर समस्याको समाधान गर्न आग्रह गरेका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४०औँ स्मृति दिवसका अवसरमा नेकपा सचिवालयले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले स्वास्थ्य शिक्षा क्षेत्रमा कस्तो बहस गर्नुपर्छ त्यसमा सरकार तयार रहेको बताए ।
सरकारले बनाएको वार्ता टोलीसँग डा केसीले वार्ता गर्न नचाहेको भन्दै उनले ठूला ठूला युद्धको निकास त वार्ता र संवादबाटै भएको भन्दै केसीलाई पनि वार्ताबाटै समस्याको समाधान निकाल्न आग्रह गरे ।
उनले भने, ‘वार्ता पनि विधि र प्रक्रियाबाट हुन्छ । तर यहाँ यस्तो हुन सकिरहेको छैन । तैपनि हामी भनिराखेका छौं । आउनुस वार्ता गरौं ।’
ओलीले डा केसीको मागलाई कांग्रेस लागायत केही पार्टीले आफ्नो स्वार्थसँग जोडेको आरोप लगाए । उनले भने, ‘कांग्रेस र अन्य केही पार्टीले डा केसीको आन्दोलनलाई उचालेर आफ्नो राजनीतिक स्वार्थ पुरा गरिरहेका छन् । जुन कुरा डा केसीले बुझ्नु भएको छैन ।’
उनले डा केसीको मागबारे बोल्दै आफूहरु केसीको माग अनुसार नै आयोग बनाउन तयार रहेको बताएका हुन ।











प्रतिक्रिया