इस्लामाबाद ।
पाकिस्तानको जेलमा रहनुभएका पूर्वप्रधानमन्त्री नवाज शरिफ उच्च रक्तचापको कारण बिरामी पर्नु भए पनि स्वास्थ्य जाँच गर्न नदिएको खुलासा भएको छ ।
उहाँले आफ्नो पारिवारिक चिकित्सकसँग नै जाँच गराउनका लागि दिनुभएको निवेदन पनि अस्वीकृत गरिएको छ समाचारमा जनाइएको छ ।
पाकिस्तान सरकारका स्वास्थ्य अधिकारीले नै उहाँको निवेदन अस्वीकार गरेको शरिफको पार्टी मुस्लिम लिग,¬ नवाज ९पिएमएल–एन० ले सोमबार सो जानकारी दिएको छ ।
पाकिस्तानमा आगामी बुधबार आमनिर्वाचन हुन लागेको छ । सो निर्वाचनमा पाकिस्तानमा शक्तिशाली मानिएको सेनाको समूहले पिएमएल–एनविरुद्ध मतदान गराउने कोाशिस गरेको सरोकारवालाहरुले बताएका छन् ।
यसै महिनाको शुरुमा पाकिस्तान फर्किनुभएका शरिफलाई लाहोरस्थित विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ गरिएको थियो ।
शरिफलाई हालै मात्र यहाँको एक अदालतले १० वर्ष जेल सजायको फैसला सुनाएको थियो । इस्लामावादमा रहेको एक अदालतले केही समयअघि उहाँलाई १० वर्ष कारावासको फैसला गरेको हो ।
उहाँलाई यसरी पक्राउ गरिएपछि यहाँको राजनीतिमा उतारचढाव आएको छ । पाकिस्तानमा यही जुलाई २५ अर्थात् बुधबार हुन लागेको सो संसद्को निर्वाचनमा पनि सेनाको भूमिकाका बारेमा विविध प्रश्नहरु उठाइएको छ ।
निर्वाचनको पूर्वसन्ध्यामा उहाँलाई नियन्त्रणमा लिएपछि यहाँको राजनीतिमा नयाँ उथलपुथलको सम्भावना रहेको बताइन्छ ।
उहाँले आफूलाई पाकिस्तानको सेनाले सधैँ तारो बनाउँदै आएको बताउनुभएको छ ।
उहाँलाई १० वर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना पनि अदालतले तोकिएका थियो ।
श्रीमतीको उपचारका लागि पूर्वप्रधानमन्त्री शरिफ बेलायतको लण्डनमा हुनुहुन्थ्यो । उहाँकी श्रीमती क्यान्सर रोगबाट पीडित हुनुहुन्छ ।
रासस
प्रतिक्रिया