काठमाडौ,नेस) । सत्तासिन युवा र विद्यार्थी संगठनले डा. गोबिन्द केसीको आन्दोलनमा भएको समर्थनलाई राजनीतिक घुसपैठ, अराजकता र दण्डहिनताको संज्ञा दिदैं उक्त अवस्थाको अन्त्य गर्न माग गरेको छ । यसैगरी विद्यार्थी तथा युवाले विभिन्न प्रलोभनमा पारी मुलुक बाहिर विद्यार्थी बेच्न पल्किएका ईन्स्टिच्युटलाई छानविन गरी कारवाहीको माग गरिएको छ । उनीहरुले नेम र भाइब्रेन्ट जस्ता इन्टिच्युटमाथी छानविन गरी कारबाही गर्न समेत माग गरेका छन् ।
चार संगठनले निजी क्षेत्रबाट सञ्चालित सम्पूर्ण मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न माग गरेका छन् । चिकित्सा शिक्षाका बेथिती विरुद्ध अनसनरत प्राडा. गोविन्द केसीका पक्षमा समर्थन बढ्दै गएपछि नेपाल कम्युनिष्ट पार्टि आवद्ध युवा र विद्यार्थी संगठनले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
संविधानले अंगिकार गरेको समाजवाद उन्मुख ब्यवस्थाको मर्म एवं शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हकको रुपमा गरिएको संबैधानिक ग्यारेण्टिको प्रावधान अनुसार निजी क्षेत्रबाट सञ्चालित सम्पूर्ण मेडिकल कलेजहरुलाई अविलम्ब राष्ट्रियकरण वा गैर नाफामूखि ट्रष्टमा रुपान्तरण गर्न उनीहरुको माग छ ।
तत्कालिन नेकपा एमाले निकट युवा संघका अध्यक्ष रमेश पौडेल , वाइसियलका अध्यक्ष रामप्रसाद सापकोटा, अनेरास्ववियुकी अध्यक्ष एवं सांसद नविना लामा र अनेरास्ववियु क्रान्तिाकारीका अध्यक्ष रञ्जित तामाङद्धारा आइतबार जारी विज्ञप्तिमा उच्च स्तरीय चिकित्सा शिक्षा आयोग गठन गरी स्वास्थ्य शिक्षामा देखिएका समस्याको दिर्घकालिन समाधान गर्न माग गर्दै गरिएको छ ।
स्वास्थ्य क्षेत्रमा हुँदै आएको बन्द हड्तालमा प्रतिबन्ध लगाउँदै सेवा नदिने अधिकारीलाई कारवाहीको माग समेत गरिएको छ । संसदलाई छलफल र निकासको साझा थलो बनाउन माग गर्दै विज्ञप्तिमा आयोग मार्फत् समस्या निरुपण हुने भएकोले केसीसँग वार्ता गरी अनसन स्थगित गर्न माग गरिएको छ ।











प्रतिक्रिया