रसुवाको पुँजीगत खर्च विवरण सार्वजनिक

0
Shares

नेपाल समाचारपत्र, रसुवा
गत आर्थिक वर्षमा रसुवाका सरकारी कार्यालयमा पूँजीगत खर्च विवरण सार्वजनिक भएको छ ।

प्रमुख कोष नियन्त्रक दीपक लामिछानेका अनुसार जिल्ला प्रशासन, स्वास्थ्य, कृषि, पशुसेवा, वन, भूसंरक्षण, लाङटाङ राष्ट्रिय निकुञ्ज, आयुर्वेद, मालपोत, नापी, भन्सार, प्रहरीलगायत कार्यालयमा आर्थिक वर्ष २०७४÷७५ को एक वर्षमा चालू शीर्षकमा तीन अर्ब ९७ करोड ६९ लाख ६१ हजार ४७ अर्थात् करीब ९१ प्रतिशत खर्च भएको छ । सो शीर्षकमा चार अर्ब ३६ करोड ५० लाख ८७ हजार १ सय ९१ र पैसा ५८ विनियोजन भएको थियो ।

पूँजीगततर्फ भने ६८ करोड ५९ लाख चार हजार ६१ विनियोजन भएकामा ४७ करोड ६० लाख ४७ हजार ४६२ अर्थात् करीब ६९ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । विनियोजित रकममध्ये खर्च नभई दुई शीर्षक अन्तर्गत बाँकी रहेको ५९ करोड ७९ लाख ८२ हजार ७ सय ४१ र पैसा ८९ फ्रिज भई संचित कोषमा फिर्ता गएको बताइएको छ । राजस्वतर्फ सबैभन्दा बढी आर्जन गर्ने भन्सार कार्यालय भएको छ । समग्रमा जिल्ला प्रशासन, अध्यागमन, निकुञ्ज, नापी, मालपोत, प्रहरी समेतका निकायबाट चार अर्ब ७८ करोड ८८ लाख ८ सय १७ र पैसा ८७ राजस्वमा जम्मा भएको छ ।

यस्तै, राजस्व असुलीमा रसुवा भन्सार कार्यालय टिमुरे विगतको तु्लनामा गत वर्ष दोब्बर राजस्व आर्जन गर्न सफल भएको छ । विगत आर्थिक वर्षमा दुई अर्ब ४२ करोड ३८ लाख राजस्व असुली भएकामा गत आवमा चार अर्ब ५९ करोड २३ लाख राजस्व असुली भई विगतको तुलनामा गत वर्ष वार्षिक लक्ष्यभन्दा १ सय २७ प्रतिशतले बढी प्रगति हासिल गर्न सफल भएको प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले जानकारी दिनुभएको छ ।

चीनबाट बढी मात्रामा तयारी पोशाक, बेरिएको कपडा, इलेक्ट्रिकल सामान, जुत्ताचप्पल लगायत सामग्री आयात र नेपालबाट मैदा, खुर्सानी, चाउचाउ, बिस्कुट लगायत सामान निर्यात भइरहेको बताइएको छ । वर्षायाम भए पनि नेपाल चीनबीचको उत्तरी नाका निर्बाध रुपले सञ्चालन भइरहेको छ । भन्सार जाँचपासका लागि २० भन्दा बढी जाँचकी परिचालन भई सामान आयात निर्यातको परीक्षण छिटो छरितो भएको कोइरालाले बताउनुभएको छ ।