शालिकराम चालिसे, रसुवा
रसुवागढी नाकाबाट केरुङ जान लागेका २९ जना किशोरीलाई माइती नेपालले नाकाबाटै घर फर्काएर उद्धार गरेको छ ।
टिमुरेमा सहायता कक्ष खोलेको दश महिनाको अवधिमा संस्थाले बेचबिखनमा परेका २९ जना किशोरीको उद्धार गरेको हो । माइती नेपालका अनुसार गत २०१७ सेप्टेम्बरदेखि हालसम्म २९ जनालाई घर फिर्ता गरेको र नौ सय ५५ जना किशोरीलाई सहायता कक्षबाट परामर्श दिइएको माइती नेपाल टिमुरे हेल्प डेस्कका अम्बिका श्रेष्ठले बताउनुभएको छ । जोखिमपूर्ण तरिकाले अभिभावक विना केरुङ जान लागेका किशोरीलाई घर फिर्ता गरिएको श्रेष्ठले जानकारी दिनुभएको हो ।
यस्तै, जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार रसुवा लगायत छिमेकी जिल्लाहरू नुवाकोट, धादिङ, सिन्धुपाल्चोक लगायत ठाउँबाट कामका लागि किशोरीहरू केरुङ पुग्ने गरेका छन् । चीन प्रवेश गर्न रसुवाबासीलाई पास उपलब्ध गराउने गरिएको छ । जोखिम न्यूनीकरणका लागि माइती नेपालको समन्वयमा सो काम भइरहेको र जनचेतना फैलाउने, परामर्श गर्ने र अभिभावकबिना पुगेकालाई फर्काउने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्लाको यार्सा, राम्चे, सरमथली, हाकु, थुमन डाँडागाउँ लगायत क्षेत्रका किशोरी केरुङको विभिन्न होटलमा कार्यरत रहेको सुरक्षाकर्मीको भनाइ रहेको छ । मानव बेचबिखनको न्यूनीकरणका लागि माइती नेपालले रसुवागढी नाकामा हेल्पडेस्क स्थापना गरेर परामर्श दिँदै आएको छ ।
रसुवागढी नाका सञ्चालनमा आएसँगै रसुवाबाट चीनको व्यापारिक सहर केरुङमा रोजगारका लागि जाने नेपाली किशोरीको सङ्ख्या बढेको छ । केरुङ जान खर्च कम लाग्ने र पासपोर्ट बनाउने झन्झट बेहोर्न नपर्दा उनीहरू खाडीका देशहरू र मलेसियाको साटो केरुङतिर आकर्षित हुन थालेको प्रहरीको अनुमान रहेको छ ।











प्रतिक्रिया