काठमाडौं । गत बिहीबारदेखि राजधानीमा सञ्चालन भएको १२ औं राष्ट्रिय शैक्षिक परामर्श (ईक्यान) मेला आईतबार समापन भएको छ ।
एकै स्थानमा विश्वका उत्कृष्ट गन्तव्य मुलुकहरुको शिक्षा प्रणाली र अवसरको विषयमा जानकारी दिनका लागि मेलाको आयोजना गरिएको र उद्देश्यअनुरुप मेला पूर्णतया सफल भएको आयोजक संस्था नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) का अध्यक्ष विष्णुहरि पाण्डेले बताउनुभयो ।
मेलाको अन्तिम दिनसम्म पनि विदेशमा उच्च शिक्षा अध्ययनका लागि परामर्श लिन विद्यार्थी तथा अभिभावकहरु उल्लेख्य संख्यामा मेलामा सहभागी भएका थिए ।
मेला संयोजक तथा ईक्यानका प्रथम सचिव दीपकराज भुसालका अनुसार लक्ष्य लिइएको भन्दा बढी संख्यामा मेलाको अवलोकन भएको छ । उनले १ लाखभन्दा बढी विद्यार्थी र अभिभावकले मेला अवलोकन गरेको बताउनुभयो । भुसालका अनुसार पहिलो दिन १५ हजार, दोस्रो दिन ४० हजार, तेस्रो दिन ३५ हजार र अन्तिम दिन १५ हजारले मेला अवलोकन गरेका छन् ।
अन्तिम दिन मेला चलिरहँदा चर्चित हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल, नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह लगायत कलाकारहरुले मेला अवलोकन गरेका थिए । यस्तै महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरजप्रताप सिंहले मेला अवलोकन गर्दै मेला व्यवस्थित, समयानुकूल र उपयोगी भएको प्रतिक्रिया दिएका छन् ।
मेलामा निलगिरी डेन्टल प्रालिबाट निःशुल्क डेन्टल क्याम्प, मनमोहन मेमोरियल अस्पतालबाट निशुल्क प्राथमिक उपचार केन्द्र एवम नेपाल रेडक्रस सोसाइटीबाट रक्तदान कार्यक्रम नियमित रुपमा मेला अवधिभरका लागि सञ्चालन भएको थियो । रक्तदान कार्यक्रममा १०३ जनाले रक्तदान गरेका छन् ।
मेलामा रहेका २२८ वटा शैक्षिक परामर्शदातृ संस्थाका स्टलबाट परामर्शदाताहरुले सेवा दिएका थिए । अष्ट्रेलिया, यूरोप, जापान, अमेरिका, क्यानाडा, कोरिया, मलेशिया, फिलिपिन्स, भारत लगायत देशको शिक्षा नीति, शैक्षिक कार्यक्रम, यूनिभर्सिटी, कलेज र विषयहरुका बारेमा सम्पूर्ण जानकारी गराइएको थियो ।
अवलोकनकर्ताहरुले विशेष गरी ईन्जिनियरिङ, मेडिकल, आई.टी., नर्सिङ, व्यवस्थापन जस्ता विषयहरुका बारेमा जानकारी लिन बढी चासो राखेको पाइएको छ ।











प्रतिक्रिया