उद्धारमा चनाखो हुनप¥यो



केही समयदेखिको प्राकृतिक विपत्तिले जनजीवन कष्टकर बनाएको छ । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा बाढीपहिरो एवम् डुबानले जनजीवन नराम्ररी प्रभावित भएको छ । भूकम्प प्रभावित जिल्लाहरुमा पहिरोको त्रासदी र तराईका जिल्लाहरुमा डुबानको जोखिमले जनता पीडित बन्न पुगेका छन् । बाढीपहिरो र डुबानले कति बेला कुन क्षेत्रमा कस्तो दुर्दशा निम्त्याउने हो भन्ने अनुमान गर्न नसकिने भएको छ ।

वर्षायाम लाग्नासाथ कतिपय किसान धान रोपाइँ गर्न पाउने आशामा खुशी हुन्छन् । तर अधिकांश व्यक्ति वर्षाले कस्तो शोक र संकट ल्याउने हो भन्ने त्रासले पीडित बन्छन् । बाढीपहिरोले विभिन्न सडक र पुल नै भासिएका खबर सार्वजनिक भइरहेका हुन्छन् ।

नारायणगढ–मुग्लिन सडकखण्डको पहिरोको सास्ती भनने खबर न्यूज अफ नेपालमा निरन्तर आइरहेको हुन्छ । बाढीपहिरोले विशेष गरी पहाड र तराईको व्यापार व्यवसाय, आवागमन, आहारविहार नै अस्तव्यस्त र छिन्नभिन्न बनाइदिएको छ । बाढीपहिरोको वितण्डाले पारेको क्षतिको विवरण हेर्दा हामी नेपाली सधैँ जोखिममा बाँचिरहेका छौँ भन्न कर लाग्छ ।

सरकारको पहिलो प्राथमिकता भनेकै बिचल्लीमा परेका मानिसका लागि तत्कालको भोक र प्यास मेटाउने सामग्री उपलब्ध गराउनु हो । साथै, आवास तथा लत्ताकपडा र पिउने पानीको समस्या उत्तिकै पर्छ । वर्षाले ढल मिसिने र मुहान फोहोर हुने भएकाले सफा पानीको व्यवस्था मिलाउनुपर्छ । साथै, अत्यावश्यक औषधिको व्यवस्था गर्नुपर्छ ।

जीवन–मरणको संकटमा परेका ठूलो संख्याका जनताको उद्धार एवम् राहतका निम्ति सरकारले युद्धस्तरमा सेना, प्रहरी, रेडक्रस, स्काउटजस्ता निकाय एवम् सामाजिक संस्थामार्फत व्यवस्थितरुपमा संकट व्यवस्थापन गर्नु जरुरी देखिएको छ । विपत व्यवस्थापनमा सरकारको त्यति ध्यान नपुगेको मैले अनुभूति गरिरहेको छु ।
– यज्ञ सुवेदी, भक्तपुर ।

प्रतिक्रिया दिनुहोस्