लागुऔषध कारोबारमा संलग्न पाकिस्तानी नेतालाई आजन्म काराबास

0
Shares

इस्लामाबाद ।
पाकिस्तानका एकजना नेतालाई लागुऔषधको कारोबारमा संलग्न रहेको आरोपमा आजन्म काराबासको सजाय सुनाइएको छ ।

पाकिस्तानको एक अदालतले सो सजाय सुनाएको बताइएको छ । उनी पाकिस्तानको सत्तारुढ दल नेसनल मुस्लिम लिगका नेता तथा वर्तमान सांसद हुन् । सो दल पूर्व प्रधानमन्त्री नवाज शरिफको दल हो ।

सांसद हनिफ अब्बासीमाथि लागुऔषधको प्रयोग गरेका अभियोगमा मुद्दा थियो । सो मुद्दामा भएको अन्तिम सुनुवाइमा शनिबार सो आदेश भएको हो ।

उनी आगामी बुधबार पाकिस्तानमा हुन लागेको आमनिर्वाचनमा पनि सांसदको उम्मेदवार रहेका थिए । तर मुद्दाको अन्तिम किनारा नलागिसकेकाले निर्वाचन आयोगले उनको उम्मेदवारी स्वीकार गरेको थियो ।

उनको आफ्नो औषधि कम्पनीले यस्तो लागु औषध उत्पादन गरेर बजारमा बेच्ने गरेको लागुऔषध नियन्त्रण विभागले पत्ता लगाएको थियो ।

लामो समयको अनुसन्धानपछि उनी दोषी रहेको पत्ता लागेको हो । पाकिस्तानमा जारी कानूनमा लागुऔषधको कारोबार गर्नेलाई मृत्युदण्डसम्मको सजाय दिने गरिन्छ ।

तर उनलाई भने आजन्म काराबास तोकिएको राजधानी इस्लामाबादबाट प्राप्त समाचारमा जनाइएको छ । उनीमाथि सन् २०१२ मा सो मुद्दा लगाइएको थियो ।

उनी पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरिफका एक जना नजिकका सहयोगी हुन् । निर्वाचनको तीन दिनअघि उनलाई अनायासै यो काराबासको सजाय तोकिएको छ ।

यो फैसलाले पनि नवाज शरिफको दललाई राजनीतिक रुपमा ठूलो घाटा पुगेको अधिकारीहरुले जनाएका छन् ।

उनलाई यो फैसला सुनाइएपछि अदालतभित्र उपस्थित उनका समर्थकहरुले अदालतले राजनीतिक रुपमा प्रेरित भएर यो फैसला गरेको आरोप लगाउँदै अदालतका विरुद्धमा नाराबाजी गरेका थिए ।
रासस