सातै प्रदेशका सामाजिक विकासमन्त्री स्वास्थ्य मन्त्रालयमा


काठमाडौँ ।
सातैवटै प्रदेशका सामाजिक विकासमन्त्रीले स्वास्थ्य मन्त्रालय पुगी स्वास्थ्यमा भइरहेका गतिविधिबारे जानकारी लिनुभएको छ ।

उहाँहरुले मन्त्रालयमा पुगी उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवसँग भेट गरी स्वास्थ्य सेवालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा समेत छलफल गर्नुभएको छ ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश र केन्द्रबीच स्वास्थ्य क्षेत्रमा कसरी समन्वय एवं सहकार्य गर्ने, संघले कस्तो स्वास्थ्य नीतिनियम बनाउँदै छ, प्रदेशस्तरका स्वास्थ्य संरचनालाई कसरी स्वामित्वमा राख्नेलगायत विषयमा छलफल भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “केन्द्र र प्रदेशको कानूनमा समानता, नीति योजना तथा बजेट कार्यान्वयमा सहजताको बारे कुरा भयो, मन्त्रीको सकारात्मक प्रतिक्रिया पायाँै ।”

स्वास्थ्यमन्त्री यादवले मन्त्रालयको चिकित्सा सेवालाई प्रभावकारी बनाउनु पहिलो दायित्व भएकोले मन्त्रालयले गरिरहेका गतिविधिबारे जानकारी गराउनुभएको थियो ।

भेटमा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रदेश २ का नवलकिशोर साह, प्रदेश ३ का युवराज दुलाल, गण्डकी प्रदेशका नरदेवी पुन, प्रदेश ५ का सुर्दशन बराल, कर्णाली प्रदेशका दल रावल र प्रदेश ७ का दीर्घबहादुर सोडारी सामेल हुनुहुन्थ्यो ।
रासस