प्रदेशसभा बैठक अवरुद्ध


विराटनगर ।
प्रदेश नं १ को प्रदेशसभाको आजको बैठक प्रतिपक्षी नेपाली काँग्रेसका प्रदेशसभा सदस्यको विरोधका कारण स्थगित भएको छ ।

सभामुख प्रदीपकुमार भण्डारीद्वारा सभा सञ्चालन गर्ने आह्वान हुनासाथ काँग्रेसका प्रदेशसभा सदस्यहरुले उभिएर विरोध जनाएका कारण बैठक अवरुद्ध हुन पुगेको थियो ।

सभामुख भण्डारीद्वारा आफ्नो कुरा सदनसमक्ष राख्न समय दिँदा काँग्रेसका प्रदेशसभा सदस्य लोकप्रसाद संग्रौलाले डा गोविन्द केसीद्वारा उठाइएका माग सरकारद्वारा सम्बोधन नहुन्जेलसम्म सदन चल्न नदिने बताउनुभयो ।

सत्तापक्षका प्रदेशसभा सदस्य बुद्धिबहादुर राजभण्डारीले प्रतिपक्षको सहयोगबाट विगतमा सौहार्दपूर्ण वातावरणमा प्रदेशसभा सञ्चालन भएको स्मरण गर्दै प्रदेशको समृद्धिका लागि सभा संचालन गर्न प्रतिपक्ष सदस्यहरुलाई सहयोग गर्न आह्वान गर्नुभयो । प्रदेशसभाको अर्को बैठक यही साउन १० गते अपराह्न १ बजे बस्नेछ ।
रासस