जमान र इमामको किर्तिमानी साझेदारी


कराची, (एजेन्सी)
पाकिस्तानका ओपनर ब्याटसम्यान फखर जमान र इमाम उल हकले वानडे अन्तर्राष्ट्रिय क्रिकेटमा उच्चतम ओपनिङ साझेदारी गरेर नयाँ कीर्तिमान राखेका छन् ।

शुक्रबार जिम्बावेको बुलावायोमा घरेलु टोलीविरुद्धको चौथो वानडे खेलमा दुबैजनाले ३ सय ४ रनको उच्चतम साझेदारी गरेर नयाँ कीर्तिमान रचे । यो सँगै उपुल थारांगा र सनथ जयसुर्याले २००६ मा इंग्ल्यान्डविरुद्ध लीड्समा बनाएको २ सय ८६ रनको ओपनिङ साझेदारी छायामा परेको छ । जमान र इमामले ४२ औं ओभरमा ३ सय ४ रनको साझेदारी गर्दा बायाँ हाते ब्याटसम्यान इमाम वेलिंगटन मासाकाडजाको बलमा आउट भए । उनले १ सय २२ बलमा ८ चौकाको सहयोगमा १ सय १३ रन बनाएका थिए ।

सोही खेलमा जमानले पाकिस्तानका लागि पहिलो दोहोरो सतक बनाए । उनको सहयोगमा पाकिस्तानले वानडेमा ३ सय ९९ रनको ठूलो योगफल पनि जोडेको छ । उनले पाकिस्तानी खेलाडी सइद अनवरको व्यक्तिगत १ सय ९४ रनलाई पनि पछि पारेका छन् । सइदले १९९७ मा भारतविरुद्ध सो रन बनाएका थिए । जमानले १ सय ५६ बलको सामना गरेर २ सय १० रन जोड्दा २४ चौका र ५ छक्का प्रहार गरे ।

वानडे क्रिकेटको इतिहासमा जमान दोहोरो सतक बनाउने छैटो ब्याटसम्यान हुन् । उनी अगाडि भारतका सचिन तेन्दुुलकर, वीरेन्द्र सेहवाग र रोहित शर्मा, वेस्ट इन्डिजका क्रिस गेल र न्युजिल्यान्डका मार्टिन गप्टिलले दोहोरो रन छोएका थिए । जसमा रोहितको २ सय ६४ रन वानडे क्रिकेटमा सबैभन्दा उच्चतम व्यक्तिगत रन हो । उनीपछि गप्टिलले २ सय ३७ रन, सेहवागले २ सय १९ रन र गेलले २ सय १५ रन जोडेका थिए ।

 

उच्चतम साझेदारी ओपनिङमा
३०४ फखर जमान÷इमाम उल हक (पाकिस्तान विरुद्ध जिम्बावे)
२८६ उपुल थारांगा÷सनथ जयसुर्या (श्रीलंका विरुद्ध इंग्ल्यान्ड)
२८४ डेविड वार्नर÷हेड (अस्टे«लिया विरुद्ध पाकिस्तान)
२८२ क्विन्टम डिकक ÷हसिम अमला (दक्षिण अफ्रिका विरुद्ध बंगलादेस)
२८२ उपुल थारांगा÷तिलकरत्ने दिलसान (श्रीलंका विरुद्ध जिम्बावे)