शैक्षिक मेला आइतबारसम्म

0
Shares

काठमाडौं, (नेस)
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) द्धारा आयोजित १२ औं वृहत् शैक्षिक प्रदर्शनी आजसम्म चल्नेछ ।

बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजित मेलामा करिब १ लाख भन्दा बढीले मेलाको अवलोकन गर्ने इक्यानले जनाएको छ ।

शनिबारसम्म ५५ हजारभन्दा बढीले मेला अवलोकन गरेको आयोजक समितिका संयोजक तथा इक्यानका सचिव दीपकराज भुसालले बताउनुभयो । ‘दिनैपिच्छेजस्तो अवलोकनकर्ताको संख्या बढेको छ, एकै ठाउँबाट धेरै देशको शैक्षिक विषयमा जानकारी दिन र लिन सकिने भएकाले पनि मेलाको विशेष महत्व रहेको छ’, भुसालले भन्नुभयो– ‘यसअघिका वर्षभन्दा यसपालि बढी सहभागी आउने अपेक्षा गरेका छौं ।’

शनिबार पूर्वप्रधानमन्त्री माधबकुमार नेपालले पनि मेला अवलोकन गर्नुभएको इक्यानले जनाएको छ । इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले शैक्षिक परामर्शदाताहरुले इमानदारिताका साथ काम गर्दै आए पनि कहिलेकाँही अनेक आरोप लगाउने गरेकामा गुनासो गर्नुभयो । ‘हामी आफ्नो पेशा र व्यवसायबाट टाढा भागेका छैनौं, सरकारले मापदण्ड बनाएर नियमन गरे झन् बढी खुशी हुन्छौं’ –पाण्डेले भन्नुभयो ।

इक्यानले प्रत्येक वर्ष मेला लगाउँदै आएको छ । मेलामा ३ सयभन्दा बढी स्टल रहेको इक्यान अध्यक्ष विष्णुहरी पाण्डेले जनाउनभुयो । इक्यान कोषाध्यक्ष गोबिन्द अधिकारीले धेरै देशका विश्वविद्यालयका प्रतिनिधि आएर परामर्श दिइरहेको जनाउनुभयो । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रक्तदान, प्राथमिक उपचारका साथै डेन्टल क्याम्पको पनि व्यवस्था गरिएको द्धितीय उपाध्यक्ष राजेन्द्र रिजालले जनाउनुभयो ।