द्वन्द्वपीडितको नाममा आएको ४२ लाख फ्रिज

0
Shares

नेपाल समाचारपत्र, लमजुङ
लमजुङमा सशस्त्र द्वन्द्वको समयमा विभिन्न प्रकारले पीडित भएका नाउँमा आएको राहत ४२ लाख ३३ हजार रुपैयाँ फ्रिज भएको छ । फ्रिज भएको रकम करिब ४० प्रतिशत हो ।

उक्त रहात रकम जस्का नाउँमा आयो उनीहरूले जिल्ला शान्ति समितिका सम्पर्क नगरेका कारणले सो रकम फ्रिज हुन गएको बताइएको छ । द्वन्द्वकालमा वेपत्ता भएका तथा विस्थापित भएका, मृतकका परिवारसहितका द्वन्द्वपिडितका नाममा एक करोड ४ लाख ६२ हजार रुपैया निकासा आएको थियो ।

त्यसमध्ये ४२ लाख ३३ हजार रुपैया रकम फिर्ता भएको छ । बेपत्ता पारिएका र केही विस्थापित परिवारका सदस्य सम्पर्कमा नआएपछि रकम फिर्ता गर्नुपरेको शान्ति समितीका कार्यालय सचिव किरण लामीछानेले जानकारी दिनु भयो । उहाँका अनुसार द्वन्द्वपिडितलाई रकम लिन जानकारी गराए पनि सम्पर्कमा नआएकाले यतिका रकम फ्रिज हुन गएको हो ।

पिडित भनेर सम्पर्कमा आउनु भएका केहीको नाम, ठेगना फरक परेर आएको कारण उहाँहरूलाई सो राहत रकम दिन सकिएन लामीछाने बताउनु हुन्छ । कतिपय पिडितहरू विदेश गएको कारणले रकम लिन नआएको हुन सक्ने लामिछाने बताउनु हुन्छ । उहाँका अनुसार जिल्लामा यसअघि तोकीएको राहत रकम पुरा नभएका र राहत नपाएकालाई रकम वितरण गरिएको हो ।

आर्थिक वर्ष ०७४÷७५ मा द्वन्द्व पिडित परिवारका सदस्यलाई जिल्ला प्रशासन कार्यालय लमजुङले ६२ लाख २९ हजार ४ सय रुपैया राहत रकम वितरण गरेको हो । तत्कालीन द्वन्द्वको क्रममा विस्थापित भएका मृतक परिवार र अन्य मृतकको परिवारका ६१ जना सदस्यलाई उक्त राहत रकम वितरण गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

राहत पाउनेमा टुहुरा बालबालिका ३ जना, अपाङ्गता भएका १ जना, मृतक जनका परिवार संख्या १६ र विस्थापीत ४१ परिवारले उक्त रकम लिएका हुन् । वितरण गरिएको रकममा २ लाख १५ हजार ४ सय रुपैया टुहुरा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका लागि रकम छुटाइएको थियो । विस्थापित भएका ४१ परिवारलाई २५÷२५ हजार रुपैया प्रदान गरिएको छ ।

यसैगरी, मृतक परिवारका नजिकको कानुनी अधिकार लाग्ने १० जना सदस्यलाई प्रतिसदस्य १ लाख ५० हजार प्रदान गरिएको लामीछानेले बताए । अन्य मृतक परिवारका ४ सदस्यलाई ५÷५ लाख रुपैया र २ जनालाई ७÷७ लाख रुपैया वितरण गरिएको छ ।

जिल्लामा मृत्यु भएका १ सय ५३ जना, वेपत्ता भएका १६ परिवार, विस्थापीत भएका १ सय २१ परिवारलाई पनि राहत वितरण गरिदै आएको छ । मृतक र वेपत्ता परिवारलाई १० लाख र विस्थापित परिवारलाई २५ हजार रुपैयका दरले राहत वितरण गरिदै आएको लामीछानेको भनाई छ । विस्थापीत शिर्षकमा एउटै घरका ११ जनासम्मले राहत लिएका छन् ।

स्मरणीयछ, लमजुङमा द्वन्द्वकालमा आतंककारी तथा विध्वंसात्क ऐन अन्तरगत थुनामा राखिएका विशेष अदालतमा कर्तव्य ज्यान मुद्दा लगाईका र विस्थापित जीवन समेत भोग्नु परेका केही व्यक्तिलाई अझै पनि द्वन्द्वपीडितको सूचिमा नामसम्म पनि अंकित नगरीएको प्रति केही पीडितले आक्रोश व्यक्त गर्दै आएका छन् । त्यस्तो पीडितमध्ये जिल्लाका अग्रज पत्रकार नवराज पहाडी पनि एक हुनुहुन्छ ।