जलजला बाढीपहिरोपीडितको माग, लस्तीमा तटबन्ध र सुरक्षित आवास 

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत
मुसलधारे बर्षापछि आएको बाढी र पहिरोको चपेटामा परेका पर्वतको जलजला गाउँपालिकाका पिडीतहरुले लस्ती खोला नियन्त्रणका लागि स्थायी तटबन्ध र सुरक्षित स्थानमा आवास बनाउन माग गरेका छन ।

बाढी र पहिरोको प्रकोपको स्थलगत अवलोकनका लागि पुगेको साँसद पदम गिरी , प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल सहितको सरोकारवालाहरुको टोलीलाई पिडीतहरुले लस्तीखोला नियन्त्तण गर्न र पहिरोमा घर गुमाएर बिस्थापितहरुको पुर्नस्थापना गर्नुपर्ने माग गरेका हुन ।

साउन १ गते राती लस्तीखोलामा आएको बाढीले तटबन्ध बगाउँदा लस्तीबजारका डेढ सय घर जोखिममा परेका छन भने लस्ती बेरनेटामा बस्तीमाथिबाट आएको पहिरोले घर बगाउँदा २२ घर परिवार बिस्थापित भएर बिद्यालय तथा आफन्तको घरमा आश्रय लिइरहेका छन । लस्तीखोलाको दुबै तर्फ स्थायी प्रकृतिको तटबन्ध नबनाउने हो भने जुनसुकै बेला पनि खोला बजारमा पसेर बगरमा परिणत हुन सक्ने चिन्ता उनीहरुको छ । अत्याधिक बर्षा हुँदा उर्लेर आउने खोलाले धेरै तटबन्ध बगाएको छ ।

खोलाले धार परिर्वतन गरेका कारण रातपरेपछि बजारका बासिन्दाहरु बजार छाडेर सुरक्षित स्थान तर्फ जाँने गरेको स्थानिय रुद्र श्रेष्ठले बताए । ‘आकाशमा कालो बादल र रात परेपछि घरमा सुत्न सकेका छैनौ’ उनले भने ‘नजिकै सुरक्षित ठाउँ खोजेर हिड्न बाध्य छौ’ लस्तीबजारमा यस अघि पनि पटक पटक खोला पसेर बगरमा परिणत गर्दै आएका कारण यस पटक सुरक्षित बनाउन तटबन्ध आवश्यक भएको उनीहरुको माग छ ।

पहिरोले घर बगाएको बेरनेटामा पनि पिडीतहरुले रात कटाउन त के दिउँसो पनि बस्न छाडेका छन । कसैको घर नै बगाएका कारण सडकमा छ भने कसैको घरमा अघि र पछिबाट पहिरो गएकाले बस्न सक्ने अवस्था छैन । उनीहरुलाई स्थानिय लस्ती सनलाईट बोडिङ्ग स्कुलमा राखिएको छ भने कतिपय आफन्तकहाँ छन । ‘घरमा बस्ने अवस्था नै छैन, गाउँमा पनि घर बनाउने ठाउँ छैन’ पिडीत सन्तोष परियार भन्छन ‘अन्यत्रै जमिनको ब्यबस्था गरेर बास बस्ने ठाउँ बनाउनुपर्छ।’

बाढी र पहिरोले बेरनेटा र लस्तीबजारमा आउने पानीका पाइप बगाउँदा धेरैले बोत्तलको पानी किनेर बिहान बेलुका खाइरहेका छन । खानेपानी तथा सरसफाई डिभीजन कार्यालय पर्वतले बाढी बगाएको ४ सय मिटर भन्दा बढी पाईप उपलब्ध गराएका कारण अब पानीको समस्या नहुने डिभीजन प्रमुख प्रेमप्रकाश डोटेलले जानकारी दिए ।

यसैगरी लस्दी खोलामा तटबन्ध निर्माणका लागि जलउत्पन्न प्रकोप नियन्त्रण डिभीजन बागलुङ्गको प्राबिधीक टोलीले स्थलगत रुपमा रिर्पोट तयार पारेको र तत्काललाई तारजाली उपलब्ध गराउने तथा दिर्घकालिन रुपमा बजार सुरक्षित बनाउन तटबन्धका लागि माथिल्लो निकायमा पहल गर्नुपर्ने डिभीजन प्रमुख खगेन्द्र भट्टचनले बताए ।

अनुगमनका पुगेका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जनप्रतिनिधी, सरोकारवाला कार्यालय र स्थानिय तह संग समन्वय गरेर उद्दार र राहत साथै पुर्नस्थापनाका लागि पहल गरिहेको बताए । ‘सबै क्षेत्रको समन्वयमा काम भैरहेको छ’ उनले भने ‘तत्कालिन र दिर्घकालिन आवश्यकताका आधारमा आउने सिफारिसलाई जिल्ला दैबिप्रकोप उद्दार समितिले माथिल्लो निकायमा पठाउने काम गरिरहेको छ’

स्थलगत अवलोकनमा गएका प्रतिनिधसभाका साँसद पदम गिरीले सबै सरोकारवाला निकायबाट पिडीतहरुको घाउँमा मल्हम लगाउने र उनीहरुलाई दिर्घकालिन रुपमा समस्या समाधानका लागि आफ्नो क्षेत्रबाट सबै पहल हुने आश्वासन दिए । उनले केन्द्रिय तहबाट बजेट ब्यबस्थापन गरि तटबन्ध, पुर्नस्थापनाका लागि आफुँले पुरै सहयोग गर्ने बताए ।

‘स्थानियबासीको आवश्यकता पुरा गर्न मेरो तर्फबाट सबै पहल हुन्छ’ उनले भने ‘पिडीतहरुको घाउँमा मल्हम लगाउन एउटा जनप्रतिनिधीको हिसाबले कुनै कसुर बाँकी राख्दिन’ उनले भने ।