नेपाल समाचारपत्र, काठमाडौं
बागमती सफाइ महाअभियानको २७१औं हप्ताको सफाइ अभियान हिजो शनिबार सम्पन्न भएको छ ।
यो अभियानबाट अभिप्रेरति भएर उपत्यकाका ११ स्थानमा बागमती र सहायक नदीको पनि सफाइ अभियानहरु निरन्तर संचालन भैरहेका छन् भने चक्रपथ लगायतका सफाई अभियानहरु पनि संचालनमा छन् । देशैभरी करीब ९० स्थानमा सरसफाई अभियान सम्पन्न भएका छन् ।
२०७० साल जेठ ५ गतेबाट यो अभियान थालनी भई हालसम्म निरन्तर संचालनमा रही हालसम्म करिब १५ हजार मेट्रिक टन फोहोर ब्यबस्थापन गरीसकिएको छ भने यो अभियानमा करिब १० लाख ब्यतिmको सहभागीता भैसकेको छ । यो अभियानको थालनी भए पश्चात नेपाल सरकारको अंग अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत बिकास समिति पनि कृयाशील भएर आयोजनाका कामहरु ढल निर्माण, बागमती किनारमा सौदर्यकरण बागमती करीडोर लगाएतका कामहरु सक्रियताका साथ संचालनमा भैरहेका छन् ।
बागमती नदीलाई बैज्ञानिक किसिकले सफाई शुरुवात गरौं भन्ने अभियन्ताहरुको लामो समयदेखीको माग बमोजीम बिकास समितिका अध्यक्ष नरेन्द्र बहादुर बस्नेतको सक्रियतामा शनिबारदेखी स्काईभेटर र फोहोर ब्यबस्थापनको लागी २ वटा टयाक्टर लगाएतका औजार नेपाल सरकारले खरीद गरी औपचारीक रुपमा सञ्चालनमा ल्याईएको छ यो सँगै फोहोर ब्यबस्थापनमा थप टेवा पुग्नेछ ।
यसैबीच चक्रपथ सरसफाई अभियान ४९औं सातामा प्रवेश गरेको छ । अभियानका प्रमुख अभियन्ता ताराबहादुर कुँवरले शनिबारको कार्यक्रममा पनि उत्साहपूर्ण सहभागित रहेको बताउनुभयो । २०७१ सालदेखि अभियान चलाए पनि बीचमा चक्रपथको बाटो निर्माण गरिँदा अभियान रोकिएको कुँवरले जनाउनुभयो ।
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जापान लायन्स क्लवका प्रतिनिधि, लायन्स क्लव अफ काठमाडौं धौलागिरीका प्रतिनिधि मण्डलकै सहभागिता रहेको आयोजकले जनाएको छ । शनिबारसम्म १ सय ६२ ट्रक फोहोर संकलन गरिएको छ । हेवी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्षसमेत रहनुभएका कुँवरले प्रत्येक साता फोहोर संकलनका लागि डोजर उपलव्ध गराउनुभएको छ ।
कलंकीदेखि बालाजुसम्म सरसफाई गर्ने र प्रत्येक शनिबार बिहान ७ बजेदेखि अभियान चलाउँदै आइएको छ । ‘ सबैको सहभागिता हुन सकेको खण्डमा सरसफाई गर्न समस्या छैन तर सबैले चासो नराख्दा अलिकति समस्या परेको छ ’ उहाँले भन्नुभयो ‘ मन्त्री, पत्रकार, कलाकार, समाजसेवी, उद्योगी व्यवसायीको सहभागिता बढिरहेको छ, अझै मन लगाइदिए हुन्थ्यो ।’











प्रतिक्रिया