पाँच जग्गादाता सम्मानित

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
त्रिभुवन विश्वविद्यालयलाई २ सय ९५ विगाहा जग्गा दान गर्नेे ५ दातालाई सम्मान गरिएको छ । त्रिवि सभाको वार्षिक सभाको बैठकमा त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दातालाई सम्मानपत्रबाट सम्मान गर्नुभएको हो ।

सम्मानित हुनेहरुमा झापाको मेची वहुमुखी क्याम्पसलाई १ सय २० विगाहा ३ कठ्ठा ५ धुर जग्गा दान गर्नुहुने स्वर्गिय देवीप्रसाद उप्रेती, राजविराजको महेन्द्र विन्देश्वरी क्याम्पस स्थापना गर्न ९८ विगाहा १८ कठ्ठा ७ धुर जग्गा प्रदान गर्नुहुने स्वर्गिय विन्देश्वरप्रसाद यादव, वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पस स्थापना गर्न १४ विगाहा जग्गासहित घर दान गर्नुहुने स्वर्गिय महावीरप्रसाद र रघुवीरराम, सुर्यनारायण सत्यनारायण मरवैता क्याम्पस स्थापना गर्न भवन सहित ५ विगाहा जग्गा प्रदान गर्नुहुने स्वर्गिय सुर्यनारायण र सत्यनारायण मरवैता र धनुषाको रामस्वरुप राम सागर वहुमुखी क्याम्पस निर्माण गर्न ५७ विगाहा र १४ कठ्ठा ५ धुर जग्गा दान गर्नुहुने रामस्वरुप साहा र रामसागर साहलाई सम्मान गरिएको हो ।

स्वर्गिय उप्रेतीकी धर्मपत्नी नर्मदा उप्रेती, स्वर्गिय यादवको तर्फबाट उहाकी वुहारी एवं सांसद रेणु यादव, स्वर्गिय महावीर र रघुवीरको तर्फबाट महावीरप्रसादका छोरा गोपालजीप्रसाद, स्वर्गिय सुर्यनारायण र सत्यनारायण मरवैताको तर्फबाट विश्वेश्वर मरवैता र स्वर्गिय रामसागर र रामस्वरुपको तर्फबाट रामस्वरुपका नाति ई. सुभाषचन्द्र साहलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेल र त्रिविका उपकुलपति प्राडा तीर्थराज खनियाले दोसल्ला र फुलको गुच्छाले सम्मान गर्नुभएको थियो । त्रिविले जग्गा र क्याम्पस भवन दान दिने दातालाई पहिलोपटक सम्मान गरेको हो । कार्यक्रममा बोल्दै कुलपति एवं प्रधानमन्त्री ओलीले सम्मानित हुने व्यक्तित्वलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । त्रिविले जग्गा दान दिने पाचैजनालाई त्रिवि परिक्रमा गराएको थियो ।

सम्मान अघि बसेको बैठकलाई सम्बोधन गर्दै कुलपति एवं प्रधानमन्त्री ओलीले विश्वविद्यालयले अब अनुसन्धान र प्राविधिक विषय पढाउन जोड दिनुपर्ने बताउनुभयो । उहाले भन्नुभयो– नेपालीहरुको साझा प्रयासबाट स्थापना भएको त्रिविलाई नया योजनाबाट अघि बढाउनुपर्छ । उहाले कृषी तथा आवश्यकताको आधारमा नया प्राविधिक विषय अध्यापन गराउने नया क्याम्पसलाई आवश्यकताको आधारमा सम्बन्धन दिनुपर्ने बताउनुभयो ।

‘जोखाना हेरेको शैलीमा नभई तथ्यमा आधारित भएर त्रिविको शैक्षिक कृयाकलाप अघि बढाउनुस्’, त्रिवि सभाषदलाई निर्देशन दिदै उहाले भन्नुभयो– ‘शैक्षिक क्षेत्रमा विकास गर्ने बेला भएको छ, सबै एकजुट भएर लाग्नुस् ।’ उहाले राष्ट्रिय योजना आयोग र शिक्षा मन्त्रालय मिलेर त्रिविको विषयमा नया योजना ल्याउन समेत आग्रह गर्नुभयो ।

सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयका समस्या र आगामी योजना निर्माणका लागि बृहत छलफल गर्ने बताउनुभयो । उहाले भन्नुभयो– गम्भीर समस्या छन् । नया कार्यादल बनाएर सामान गर्न आवश्यक छ–उहाले भन्नुभयो । उहाले अहिलेको अवस्थामा गुणात्मक शिक्षा आवश्यक भएको चर्चा गर्नुभयो । विश्वपरिवेश अनुसारको शिक्षा उपलब्ध गराउनु आजको आवश्यकता भएको औल्याउदै त्यसको निम्ति सबै सरोकारवाला एकजुट हुनुपर्ने बताउनुभयो । उपकुलपति प्राडा तिर्थ खनियाले विश्वविद्यालयको अवस्था र उपलब्धिका बारमा चर्चा गर्दै ५९ वर्ष पुगिसक्दा त्रिविले थुप्रै सफलता हासिल गरेको चर्चा गर्नुभयो ।

उक्त अबसरमा रजिष्ट्रार डिल्लिराम उप्रेतीले ५६औं ग्रेस लिष्टको विवरण प्रस्तुत गर्नुभएको थियो । जसअनुसार आगामी पुसमा आयोजना हुने दिक्षान्त समारोहमा यस बर्ष ७३ हजार ९ सय १ जना विद्यार्थी सहभागि हुन पाउने व्यवस्था भएको जानकारी दिनुभयो ।

तथ्यांकअनुसार प्राविधिकतर्फ उपाधि पाउने विद्यार्थीको संख्या गत वर्षको भन्दा १ दशमलब १५ वृद्धी भइ १४ दशमलब ९१ प्रतिशत रहेको बताउनुभयो ।

पुसमा हुने दिक्षान्तमा सबै भन्दा धेरै शिक्षा शास्त्रमा २४ हजार ७ सय ३ विद्यार्थी रहेका छन् । ब्यवस्थापनमा २२ हजार ६ सय ९, मानविकी तथा सामाजिक शास्त्रमा १४ हजार २ सय १५ र कानूनमा १ हजार ३ सय ५० , विज्ञानमा ५ हजार ९ सय ५५, ईञ्जिनीयरिङ्मा २ हजार ७ सय १२ चिकित्सामा १ हजार ८ सय २१, कृषिमा ३ सय २६ र वनमा २ सय १० विद्यार्थी सहभागि हुन पाउनेछन् । हिजोको सभामा कुलपति एवं प्रधानमन्त्री ओलीले ग्रेस लिष्टमा हस्ताक्षर गरी पारित गर्नुभएको थियो ।