लन्डन, (एजेन्सी)
इंग्लिश प्रिमियर लिगको टोली लिभरपुलले ब्राजिलियन राष्ट्रिय टिमको पहिलो रोजाईका गोलरक्षक एलिसन राम्सेस बेकरलाई एएस रोमाबाट विश्व किर्तिमानी रकम ६५ मिलियन पाउण्डमा अनुबन्ध गरेको छ ।
यो सँगै एलिसन विश्वका सबैभन्दा महँगा गोलरक्षक बनेका छन् । यसअघि लिभरपुलले ब्राजिलका मिडफिल्डर फाबिन्हो र स्विट्जरल्याण्डका फरवार्ड जार्डेन शाकिरीलाई पनि अनुबन्ध गरेको थियो ।
२५ वर्षीय एलिसनले लिभरपुलसँग ६ बर्षको सम्झौता गरेका छन् । उनीमाथि चेल्सीले समेत चासो देखाएको थियो । तर लिभरपुलले चेल्सीलाई पछि पार्न सफल भएको छ ।
लिभरपुलसँग सम्झौता पत्रमा हस्ताक्षर गरेपछि एलिसनले आफु निकै खुसी भएको बताएका छन् । ‘म निकै खुसी छु । यो एक साँचो सपना हो । एक प्रतिष्ठित क्लबको जर्सी लगाउँदा गर्व महसुस भएको छ,’ उनले भने,–‘यो मेरो करियरको सबैभन्दा ठूलो कदम हो । म लिभरपुलका लागि उत्कृष्ट प्रदर्शन गर्नेछु ।
प्रशिक्षक यर्गेन क्लोपले एलिसन लिभरपुल आउनु निकै महत्वपूर्ण भएको बताएका छन् । ‘संसारका सर्वश्रेष्ठ गोलरक्षकलाई अनुबन्ध गर्ने अवसर प्राप्त भएको छ । हामीले केही गर्नुपर्नेछ र त्यो समय आएको छ,’ क्लोपले भनेका छन्, ‘अबका केही हप्तामा धेरै कुरा हुने छ । उनले हामीलाई खुसी बनाउनेछन् ।
उनको अंग्रेजी पनि राम्रो छ र उनी आफैमा राम्रा र असल व्यक्ति हुन् ।’ एलिसनले पछिल्ला केही बर्षमा यूरोपमा उत्कृष्ट खेलेको र विश्वकपममा पनि उनको प्रर्दशन गरेको क्लोपले बताएका छन् । यसअघि इजिप्टका चर्चित स्ट्राईकर मोहमद सलाह पनि इटालियन क्लब रोमाबाट लिभरपुल पुगेका थिए ।
प्रतिक्रिया