अस्पताललाई अनशनस्थल नबनाउन आग्रह

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
त्रिभुवन विश्वविद्यालयले त्रिवि शिक्षण अस्पताललाई अनशन स्थल नबनाउन आग्रह गरेको छ । लगातार १९ दिनदेखि अनसनरत डा केसीको आन्दोलनको समर्थनमा त्रिविका चिकित्सक र कर्मचारीले आन्दोलन गर्न शुरु गरेपछि त्रिविले विज्ञिप्त जारी गर्दै चिकित्सक र सबै कर्मचारीलाई नियमित काम गर्न आग्रह गरेको छ ।

यस संस्थामा आबद्ध भएर पनि केही चिकित्सक प्राध्यापन गर्ने कार्यमा संलग्न नहुने, बिरामीहरूको स्वास्थ्य उपचारमा संलग्न नहुने, शिक्षण, प्रशिक्षण र परीक्षामा संलग्न नहुने जस्ता गतिविधिले विश्वविद्यालयको ध्यान गम्भीर रूपमा आकर्षित भएको जनाएको छ ।

डा. केसीले राखेका मागहरूको बारेमा वार्ता टोली गठन गरेको कुराप्रति त्रिभुवन विश्वविद्यालय हार्दिक स्वागत गर्दछ । चिकित्सा क्याम्पसमा कार्यरत सार्वभौम जनताका जनप्रतिनिधिहरूले सम्बोधन गर्ने विचाराधिन विषयलाई अनेकन ढङ्गबाट दवाव दिने उद्देश्यले उपचारको लागि आउने बिरामीहरूको स्वास्थ्य सेवामा असर पार्ने गरी शिक्षण अस्पताल र केन्द्रहरूमा कुनै पनि माग राख्ने कार्य गर्नु, गर्न खोज्नु अत्यावश्यक सेवा ऐन, सम्मानित सर्वोच्च अदालतबाट पटक पटक जारी भएका आदेश, विश्वविद्यालयको ऐन, नियम र विनियमको विपरीत हुने विज्ञप्तिमा उल्लेख छ ।

विगतमा त्रि.वि. शिक्षण अस्पतालमा अनसन बस्ने कार्यले शिक्षण अस्पताल र अन्य केन्द्रहरूमा स्वास्थ्य उपचारको लागि आउने बिरामीहरू संविधानले प्रदान गरेको स्वास्थ्य सम्बन्धी मौलिक हकबाट बञ्चित हुनु परेको, करोडौं रुपैँया हानी नोक्सानी र आर्थिक घाटा बेहोर्नुृ परेको जनाएको छ ।

त्रिविले जारी गरेको विज्ञप्तिमा जनतालाई स्वास्थ्य उपचारको लागि दिने सेवामा बाधा अड्चन सृजना गर्न खोज्ने कुनै पनि संघ, समूह वा व्यक्तिको भ्रममा नपरी संस्थाको ऐन, नियम तथा चिकित्सकीय धर्म विपरीत नगई सदाझैँ बिरामीहरूको स्वास्थ्य उपचार र प्राध्यापन गर्ने कार्यमा कर्तव्यनिष्ठ रूपमा संलग्न भइदिनुहुन चिकित्सक प्राध्यापक, प्राविधिक अप्राविधिक प्राध्यापक, कर्मचारीहरू एवम् चिकित्सक विद्यार्थीहरूमा त्रिभुवन विश्वविद्यालय हार्दिक अपिल गर्दछ भनिएको छ ।