नेपाल समाचारपत्र, काठमाडौं
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले विदेश अध्ययन गर्न गएका विद्यार्थीले नेपालमै आएर योगदान गर्नुपर्ने बताउनुभएको छ । उहाँले समृद्ध नेपाल निर्माण हुन लागेको अवस्थामा विदेशका अध्ययन गरेको ज्ञान नेपालमा सदुपयोग गर्न आग्रह गर्नुभएको छ ।
हिजो बिहीबारदेखि शुरु भएको १२औ इक्यान फेयरको उद्घाटन गर्दै उहाले नेपाललाई एजुकेशन हब बनाउनुपर्ने धारणा राख्नुभयो । उहाले भन्नुभयो– ‘यो शैक्षिक मेलामा विदेशमा पठाउनेलाई जस्तो परामर्श नहोस, विदेशीलाई पनि नेपालमा अध्ययन गर्ने वातावरण बनाउन ठोस कदम चाल्नुस ।’ उच्च शिक्षामा नेपालको राम्रो सम्भावना भएको र नेपालका बुद्धिज्म, हिमालय लगायतका विषयवस्तुहरु विश्वविद्यालयीय शिक्षामा अन्तराष्ट्रियकरण गरी नेपाललाई शैक्षिक गन्तव्य बनाउनुपर्ने बताउनुभयो । पछिल्लो समयमा नेपालमा शिक्षाप्रतिको चेतना बढ्दै गएको बताउदै उहाले चेतनाअनुसार नै अभिभावलाई ज्ञान दिन आग्रह गर्नुभयो ।
उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई लक्षित आयोजना गरिएको मेला साउन ६ गतेसम्म चल्नेछ । नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर वर्गले ठूलो संख्यामा नेपाली विद्यार्थीहरु अष्ट्रेलियामा अध्ययन गरिरहेको सन्दर्भमा उनीहरुको गुणस्तरीय शिक्षाका लागि निरन्तर चासो लिएको बताउनुभयो ।
श्रीलंकाली राजदूत स्वर्ण परेरा, भारतीय तथा रसियन राजदूतावासका प्रतिनिधि, नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष नरेश श्रेष्ठ, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, हिसानका अध्यक्ष रमेश सिलवाल, अभिभावक संघ नेपालका उपाध्य सुभाष भण्डारीलगायतको सहभागिता रहेको थियो ।
२ सय २६ भन्दा वढि स्टल रहेको मेलामा सय भन्दा बढी स्वदेशी परामर्शदातृ संस्थाको सहभागिता रहेको छ । मेलामा अष्ट्रेलिया, यूरोप, जापान, अमेरिका, क्यानाडा, कोरिया, मलेशिया, फिलिपिन्स, भारत लगायत देशका परामर्शदातृसहित विभिन्न १७ वटा पेभिलियन रहेको छ ।
मेलामा एकै स्थानमा विश्वका उत्कृष्ट गन्तव्य मुलुकहरुको शिक्षा प्रणाली र अवसरको विषयमा जानकारी दिइने छ भने विशेषतः अमेरीका, अष्ट्रेलीया, न्युजीलैण्ड, क्यानडा, जापान, श्रीलंका, डेनमार्क लगायत युरोपीयन मुलुकहरु तथा छिमेकी राष्ट्रहरु भारत र चिनका विभिन्न विश्वविद्यालय तथा कलेजको प्रतिनिधित्व गर्ने शैक्षिक परामर्शदाताहरुसँग साक्षात्कार हुनेछ ।











प्रतिक्रिया