रोशन पराजुली, हेटौंडा
माध्यमिक शिक्षा परीक्षा (एसईई) पास भएर पनि ग्रेड कम हुँदा मकवानपुरका पाँच सय ४४ जनाले ११ कक्षा पढ्न पाएनन् । यो नतिजाले जिल्लाको शिक्षा प्रणाली अझै पनि माथि नउठेको पुष्टि हुने शिक्षाविद्हरु बताउँछन ।
सरकारले कोही पनि फेल नहुने प्रणाली लागु गरे पनि पास भएका भनिएका विद्यार्थी कक्षा–११ मा भर्ना हुन नपाउँदा विद्यार्थी तथा अभिभावक अन्यौलमा छन् । हेटौंडा उपमहानगर शिक्षा शाखा अधिकृत शारदा मैनालीले १.६५ भन्दा तल जीपीए ल्याउनेले ११ कक्षा पढ्न नपाउने बताउनुभयो ।
जिल्ला शिक्षा कार्यालय मकवानपुरका अनुसार मकवानपुरमा १.६५ जीपीएभन्दा तल ल्याउने ५ सय ४४ विद्यार्थी छन् । उनीहरुका लागि ११ कक्षाको ढोका बन्द भएको कार्यालयको भनाइ छ । सो स्तरीकृत अंक ‘डी प्लस’ समान हुन्छ ।
सरकारले परीक्षामा कसैलाई पनि अनुत्तीर्णको प्रमाणपत्र नदिने भने पनि ‘डी’ र ‘ई’ ग्रेड ल्याउनेले भर्ना नपाउने नीतिबाट अघोषितरुपमा त्यस्ता विद्यार्थी अनुत्तीर्ण भएको विश्लेषण शिक्षाविद्को छ । अक्षरांकन पद्धतिमा ३० देखि ४० प्रतिशतलाई ‘डी प्लस’ को ग्रेड निर्धारण गर्दै ‘आंशिक स्वीकारयोग्य’ का रुपमा व्याख्या गरिएको छ ।
मैनालीका अनुसार १.६५ भन्दा तल जीपीए ल्याउनेले ११ कक्षा पढ्न नपाए पनि सीटीईभीटीलगायत विभिन्न तालिम लिन पाउने बताउनुभयो । मकवानपुरका पाँच सय ४४ विद्यार्थीले सीटीईभीटीको १८ महिने तालिम लिनुपर्ने वा ग्रेडवृद्धि परीक्षा दिनुपर्ने मैनालीले बताउनुभयो ।
विद्यार्थीले विज्ञान पढ्न विद्यार्थीले २ जीपीए अनिवार्य ल्याउनुपर्ने मकवानपुर बहुमुखी क्याम्पसले जनाएको छ । २ जीपीए भन्दा तल ल्याउनेले विज्ञान पढ्न पाउँदैनन् । २ जीपीए ल्याउनेले विज्ञान पढ्न पाए, तर विज्ञान र गणितमा ‘सी प्लस’ र अंग्रेजी, सामाजिक र नेपालीमा ‘डी प्लस’ ल्याउनैपर्छ ।
नाम चलेका कतिपय विद्यालयका विद्यार्थीले ३ जीपीए ल्याए पनि तोकिएअनुसार विषयगत ग्रेड नपुगेको भन्दै क्याम्पसले विज्ञान संकायमा भर्ना लिएका छैनन् । कक्षा–११ मा व्यवस्थापन पढ्न नेपाली, सामाजिक, गणित, अंग्रेजी र विज्ञानमा ‘डी प्लस’ ल्याउनैपर्छ । कम्तिमा १.६५ जीपीए हुनैपर्छ ।
मानविकी संकाय पढ्न पनि कम्तिमा १.६५ जीपीए आउनुपर्ने तथा नेपाली, अंग्रेजी र सामाजिकमा ‘डी प्लस’ हुनैपर्ने प्रावधान छ । शिक्षा विषय पढ्न पनि कम्तिमा १.६५ जीपीएका साथ नेपाली, अंग्रेजी र सामाजिकमा ‘डी प्लस’ ल्याउनैपर्छ ।
अंग्रेजी, गणित, विज्ञान र कम्प्युटर विषय पढ्न चाहनेले न्यूनतम जीपीए २ अर्थात् ‘सी’ ग्रेड ल्याउनैपर्छ । यसका साथै अंग्रेजी र गणितमा न्यूनतम ‘सी प्लस’, अंग्रेजीमा न्यूनतम ‘सी’, सामाजिक र नेपालीमा न्यूनतम ‘डी’ ग्रेड ल्याउनैपर्छ । योभन्दा कम ग्रेड ल्याउनेले यीबाहेक अरु जे विषय पनि पढ्न पाउँछन् ।
शिक्षा मन्त्रालयले २०७३ असार २ गते माथिल्लो कक्षा पढ्न अंग्रेजी, गणित, सामाजिक विषयमा जीपीए २ ल्याउनैपर्ने व्यवस्था गरेको थियो । तर, त्यसको १३ दिनपछि अर्थात् २०७३ असार १५ गते माथिल्लो कक्षा पढ्न १.६५ जीपीए ल्याए पुग्ने निर्णय गरेको थियो ।
शिक्षविद्हरुले पास भएका विद्यार्थीले कलेज पढ्न पाएनन् भने मनोवैज्ञानिक असर पर्ने बताएका छन् । ‘सरकारले नीति ल्याउँदा त्यसको अध्ययन गरेर ल्याउनुपर्छ,’ शिक्षाविद् भन्छन्–निम्नस्तरमा पास हुने विद्यार्थीले कलेज पढ्न पाएनन् भने त्यसको मानसिक असर गम्भीर हुन्छ ।
पास भएर पढ्न नपाउनु भन्दा पुनः परीक्षा दिएर राम्रो अंक ल्याउन प्रोत्साहन गर्नुपर्ने उनीहरुको तर्क छ । तल्लो ग्रेड ल्याउने विद्यार्थीमा कलेज पढ्न नपाउँदा मानसिक असर पर्ने तर्क राखिएको छ । पास भयो तर पढ्न पाइएन भने मानसिक असर बढी हुन्छ ।











प्रतिक्रिया