आम्दानी धेरै, खर्च थोरै

0
Shares

नेपाल समाचारपत्र, काभ्रे
जिल्लामा गत आर्थिक वर्षको अन्त्यमा १ अर्ब ५५ करोड ७७ लाख ३६ हजार ४ सय २२ रुपैया राजश्व संकलन भएको छ । लक्ष्य भन्दा धेरै राजश्व संकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय काभ्रेका प्रमुख केदार सिं देउजाले जानकारी दिए ।

प्रमुख देउजाका अनुसार जिल्लामा दुईवटा बैकमा राजश्व रकम जम्मा हुने गरेको छ । नेपाल बैक बनेपा शाखामा ३५ करोड ४० लाख राजश्व संकलन भएको थियो भने राष्ट्रिय बाणिज्य बैक धुलिखेल शाखामा १ अर्ब २० करोड ३७ लाख रावश्व संकलन भएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै आधा अर्ब रावश्व थप भएको हो । चालु वर्ष देखि कर कार्यालयलाई समेत अपग्रेड गर्दै अधिकार सम्पन्न बनाएपछि थप राजश्व संकलन हुने अपेक्षा गरिएको छ । मालपोत कार्यालय, जिल्ला प्रशासन लगायतका कार्यालय राजश्व संकलन गर्नेमा पहिलो कार्यालयका रुपमा चिनिन्छन् ।

जिल्ला प्रशासनमा राहदानी बापतको राजश्व संकलन हुन्छ भने मालपोत कार्यालयमा जग्गा खरिद विक्री सम्वन्धी राजश्व धेरै संकलन हुने गरेको छ । असार ३२ गते एक दिनमा मालपोत कार्यालयमा १ करोड ५७ लाख राजश्व संकलन जम्मा भएको थियो । असार महिनामा मात्रै ९ करोड १० लाख राजश्व संकलन गरेको मालपोतले आर्थिक वर्षको अन्त्यसम्मा ६६ करोड ३४ लाख ९९ हजार ९ सय ४५ रुपैया संकलन गरेको छ ।

जिल्ला अदालत, जिल्ला बन, घरेलु तथा साना उद्योग कार्यालय लगायतका कार्यालयले पनि राजश्व संकलन गर्छन । आम्दानीको तुलनामा जिल्लामा खर्च हुन सकेको छैन ।

चालू खर्च ९२.१३ प्रतिशत खर्च भएको भए पनि पुँजिगत खर्च ७७.४७ प्रतिशत रकम मात्रै खर्च भएको छ । चालु तर्फ १४ अर्ब ७५ करोड ४६ लाख ६७ हजार ५ सय २८ विनियोजन भएकोमा १३ अर्ब ५९ करोड २९ लाख, ५६ हजार १ सय ७० रुपैया खर्च भएको छ ।

खर्च हुन नसकेको रकम १ अर्ब १६ करोड १७ लाख ११ हजार ३ सय ५७ रुपैया खर्च हुन सकेको छैन । त्यस्तै पुँजिगत तर्फ २ अर्ब ७ करोड ७९ लाख ९९ हजार ९ सय ७० रुपैया बजेट विनियोजन भएकोमा १ अर्ब ६० करोड ९७ लाख ७४ हजार ३ सय ६८ रुपैया खर्च भई ४६ करोड ८२ लाख २५ हजार ६ सय १ रुपैया खर्च हुन सकेन । भुकम्पको अनुदान रकम चालु र पुँजिगत दुबैमा विनियोजन भएको थियो ।

भुकम्पको अनुदानका लागि प्राप्त ३ अर्ब ५० करोड नेपाल सरकारबाट प्राप्त भुक्तानी भएको छ भने आईडिएबाट प्राप्त ४ अर्ब रकम मध्ये ३ अर्ब २१ करोड १२ लाख ५० हजार रुपैया खर्च भएको छ । भुकम्पका लागि प्राप्त अनुदान ७ अर्ब ५० करोड मध्ये ६ अर्ब ७१ करोड १२ लाख ५० हजार खर्च भएको छ ।