१३ औं साग भब्यताका साथ सम्पन्न गर्न छलफल


नेपाल समाचारपत्र, काठमाडौं
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) भब्य र सफलतापूर्वक सम्पन्न गर्न विभिन्न खेल संघका प्रतिनिधिहरुसंग छलफल गरी सुझाव संकलन गरेको छ ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को उपस्थितिमा त्रिपुरेश्वरस्थित राखेपमा भएको छलफल कार्यक्रममा सांसद् एवं नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, खेलकुद मन्त्रालयका सचिव मोहनप्रकाश सापकोटा, राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, तालिम तथा प्रशिक्षण विभागका निर्देशक रिम रानाभाट, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक नवीन उप्रेती, राष्ट्रिय टिम तयारीका निर्देशक अर्जुन विक, सागमा समावेश हुने सम्भावित विभिन्न २५ खेलका राष्ट्रिय संघका प्रतिनिधि र प्रमुख प्रशिक्षकलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मन्त्री विश्वकर्माले १३ औं साग राष्ट्रको प्रतिष्ठासंग जोडिएको विषय भएकाले यसलाई सफल पार्न सम्बन्धित सबै पक्ष गम्भीर हुनु पर्नेमा जोड दिदै पदकको सम्भावनालाई ध्यान दिएर सोही अनुसारको तयारी आवश्यक रहेको बताए । उनले १३ औं सागको आयोजना र उपलब्धीलाई संगसंगै लैजान खेलाडीहरुलाई अभिप्रेरणा र उचित वातावरण मिलाउन सबैको ध्यानाकर्षण गराए ।

एनओसी अध्यक्ष श्रेष्ठले १३ औं साग आयोजनाका लागि दक्षिण एसियाली ओलम्पिक काउन्सिलको चौथो बैठक बस्न लागेको जानकारी गराउदै बंगलादेशमा भएको ११ औं सागलाई आधार मानेर सोही अनुसारका खेलहरु राख्ने नितिगत निर्णय भएपनि आयोजकका नाताले २ खेल थप्न मिल्ने प्रावधान अनुरुप कराते र गोल्फ खेललाई थप गरिएको जानकारी दिए ।
कार्यक्रममा उपस्थित संघका प्रतिनिधिहरुले खेलाडीको तालिम, खुराक, पूर्वाधार, प्रावधिक जनशक्तिको स्तरबृद्धि, अन्तर्राष्ट्रिय ‘एक्पोजर’, पदकको सम्भावना भएको इभेन्टलाई समावेश गर्न जोड दिनु पर्ने लगायतका विषयमा सुझाव दिएका थिए ।