बक्स अफिस प्रणाली शुरू

0
Shares

चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएपछि बक्स अफिस प्रणाली लागू गर्ने कार्यलाई पहिलो प्राथमिकता दिएर काम अगाडि बढाएकी निकिता पौडेललाई सर्वोच्च अदालतले पदमुक्त गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएकै भोलिपल्ट बक्स अफिसको शुभारम्भ भएको छ।

नयाँ आर्थिक वर्ष साउन १ बाट बक्स अफिस प्रणाली लागू गर्ने सरकारको पूर्वनिर्धातिर योजनाअनुसार मंगलबार बक्स अफिस सञ्चालनमा आएको हो। बोर्डकै कार्यालयमा आयोजित एक समारोहबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बासकोटाले बक्स अफिस प्रणालीको शुभारम्भ गरे। तर, अर्को सुनुवाइ नभएसम्म निकितालाई पदमुक्त गर्ने सरकारको निर्णयको कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिए पनि निकिता भने सो कार्यक्रममा उपस्थित भइनन्। ओली सरकारको गत असार २० गते बसेको मन्त्रिपरिषद् बैठकले तात्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले गत वर्ष भदौ १४ देखि फागुन २ गतेसम्म गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेसँगै खुला प्रक्रियाअन्तर्गत प्रक्रिया पूरा गरी बोर्ड अध्यक्ष नियुक्त भएकी निकितालाई समेत पदमुक्त भएको पत्र थमाइएको थियो।

बक्स अफिस प्रणाली शुभारम्भ कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गोकुलप्रसाद बासकोटाले राजनीतिक नियुक्ति बदर गर्ने क्रममा बोर्ड अध्यक्ष निकिता पौडल घानमा परेको बताए। ‘उहाँलाई हटाउने हाम्रो उद्देश्य होइन, तर घानमा पर्नुभयो। राजनीतिमा कहिलेकाहीं यस्तै हुन्छ।’ मन्त्री बासकोटाले अब फिल्म व्यवसाय पारदर्शी हुने चर्चा गर्दै हाललाई काठमाडौंमा मात्र बक्स अफिस लगाइए पनि केही महिनामा बाहिरसमेत यो प्रणाली लागू गर्ने र हल व्यवसायीले सर्भर जडान गर्न नसके राज्यले व्यवस्था गर्नेसमेत बताए।

 

बोर्डका पूर्वसदस्य तथा पत्रकार अशोक प्यासी राईद्वारा सञ्चालित कार्यपत्रमा बोर्डका सदस्य सचिव महेन्द्रप्रसाद साखीले ५ दशक लामो इतिहासको दौरानमा स्वदेशी चलचित्र क्षेत्रको बृहत्तर हित र विकासका निम्ती फिल्मकर्मीले उठाउँदै आएको माग र आवश्यकताअनुसार बक्स अफिस सञ्चालनमा ल्याइएको बताए। यसको सफ्टवेयरको सुरक्षण र विश्वसनीयताका लागि नेपाल सरकारको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको सेन्ट्रल सिनेमा मेनजमेन्ट सिस्टममा राखिएको बताए। बोर्डका सूचना तथा अन्तर्राष्ट्रिय सम्पर्क अधिकृत चिरञ्जीवी गुरागाईंकाअनुसार बक्स अफिस प्रणाली काठमाडौंका सबै हलमा लगाइएको छ।