शहीदको सपना खेर जाने दिइने छैनः दाहाल


काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीदको सपना खेर जाने नदिइने बताउनुभएको छ ।

नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित शहीद विष्णु चौलागाईँको स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एकीकृत पार्टीले शहीदको शहादत तथा बलिदानलाई संस्थागत गर्दै उनीहरुको सपना पूरा गर्ने दायित्व लिएको र तिनले देखाएको बाटाबाटै मुलुकलाई अघि बढाउन आफूले गतिका साथ काम गरिरहेको स्पष्ट गर्नुभयो ।
फरक एक प्रसंगमा अध्यक्ष दाहालले एकीकृत पार्टीलाई कमजोर बनाउन सकिन्छ कि भनेर केही शक्तिले चलखेल गरिरहेको बताउँदै पार्टी र सरकारविरुद्ध हुने गलत प्रचार र प्रवृत्तिविरुद्ध सचेत हुन नेता–कार्यकर्तालाई आह्वान गर्नुभयो । कार्यक्रममा नेकपाका नेताले शहीदको सपना पूरा गर्न एकीकृत पार्टीले प्रभावकारी प्रयास गर्नुपर्नेमा जोड दिनुभएको थियो । विसं २०६१ असार ३१ गते चौलागाईँले शहादत प्राप्त गर्नुभएको थियो ।
रासस