डा.केसीको जीवन रक्षा गर्नुपर्नेः उपनेता गच्छदार

0
Shares

विराटनगर ।
नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले डा.गोविन्द केसीको माग सम्बोधन गरी जीवनरक्षा गर्नुपर्ने बताउनुभएको छ ।

विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विगतमा आफैँ संलग्न रहेको सरकारले डा केसीसँग गरेको सहमति कार्यान्वयन गराउन अध्यादेशअनुसारकै विधेयक ल्याउन आग्रह गर्नुभयो ।

उपनेता गच्छदारले एउटा सरकारले गरेको सहमति त्यसपछिका सरकारले कार्यान्वयन नगर्ने हो भने राज्य सञ्चालनको प्रक्रिया नै रोकिने बताउनुभयो । उहाँले सरकारले राज्य सञ्चालनको प्रक्रियाविपरीत डा केसीसँगको सहमति उल्लंघन गर्न खोजेकाले काँग्रेसले विरोध गरेको बताउनुभयो ।

अध्यादेशअनुसारको विधेयक नआए संसद्मा काँग्रेसले सशक्त विरोध गर्ने उहाँले चेतावनी दिनुभयो ।

उपनेता गच्छदारले काँग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबीच भएको सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पार्टी छोड्ने वा पार्टीबाट अलग हुने धारणा आफूले व्यक्त नगरेको र काँग्रेससँग भएको सहमति कार्यान्वयन लागि पार्टीभित्र आवाज उठाएको बताउनुभयो ।
रासस