जडीबुटी निर्यात घट्दो क्रममा


बागलुङ ।
यस जिल्लाबाट हुने जडीबुटी निर्यात अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७४÷७५ मा घटेको छ ।

गत आवमा २५ हजार ४९० किलो जडीबुटी बाहिर निर्यात भएकामा यो वर्ष जम्मा १७ हजार १९ किलो निर्यात भएको हो । जुडीबुटी निर्यातबाट रु एक लाख ९८ हजार ३४० राजश्व उठेको जिल्ला वन कार्यालय बागलुङले जनाएको छ । आव २०७३÷७४ मा दुई रु लाख ७५ हजार ७२५ राजश्व संकलन भएको थियो ।

जिल्लाबाट २० प्रजातिका जडीबुटी निर्यात हुने गरेको जिल्ला वन अधिकृत विशाल घिमिरेले बताउनुभयो । उहाँका अनुसार सतुवा, वन लसुन, चिराइतो, नागबेली, पाखनवेद, अतिस, साधारण च्याउलगायतका जडीबुटी निर्यात हुने गरेका छन् । जिल्लामा ९० प्रजातिका जडीबुटी तथा गैरकाष्ठ वन पैदावर सूचीकृत छन् । संकलन र प्रशोधन अभावमा बहुमूल्य जडीबुटी त्यसै खेर गइरहेको छ ।

“यहाँको जंगलमा प्रशस्त जडीबुटी छ, अनुसन्धान र पहिचान हुन सकेको छैन,” अधिकृत घिमिरेले भन्नुभयो, “निर्यात न्यून मात्रामा छ ।” उहाँले जडीबुटी संकलनका लागि ठूला व्यवसायी जिल्लामा नआएको उल्लेख गर्नुभयो । व्यक्तिगत प्रयोग र थोरै परिमाणमा मात्र जडीबुटी संकलनका लागि वन कार्यालयबाट इजाजत लिनेको संख्या बढी छ । “थोरैको पूर्जी लिने तर धेरै संकलन गरेर अवैध रुपमा निकासी भएको हुनसक्छ,” अधिकृत घिमिरेले भन्नुभयो, “त्यसलाई रोक्न उपयुक्त विधि निर्माण गर्ने योजनामा छौँ ।”

जिल्ला वन कार्यालयले इजाजत लिएका व्यक्तिलाई जडीबुटी संकलनका लागि एक महिनाको अवधि दिने गरेको छ । जडीबुटीको कारोबार गर्ने मुख्य व्यवसायीले खटाएका प्रतिनिधि संकलनमा खटिने गरेका छन् । वनको चारकिल्ला र जडीबुटीको मात्रा ताकेर पूर्जी दिने गरिएको सहायक जिल्ला वन अधिकृत रामबहादुर विकले बताउनुभयो । सीप, उपकरण र प्रशोधन केन्द्रको अभावले जडीबुटीको बजारीकरण हुन नसकेको उहाँको भनाइ छ ।

परम्परागत हिसाबले पहिचान भएका केही जडीबुटीको सामान्य किनबेच हुने गरे पनि त्यो व्यवस्थित हुन सकेको छैन । आधुनिक प्रविधिबाट जडीबुटीको पहिचान र प्रशोधन गरी बजारीकरण गर्न सकिए वार्षिक करोडौँ रुपैयाँ जिल्लामा भित्र्याउन सकिने देखिन्छ । जिल्लाको ढोरपाटन, घुम्टे, ताराखोला, गाजाको दहलगायतका क्षेत्र जडीबुटीका लागि पकेट ठाउँ मानिन्छन् । जडीबुटीखेती कार्यक्रमअन्तर्गत जिल्ला वन कार्यालयले टिमुर, सुगन्धवाल, अम्रिसो र लौठसल्ला रोपण गर्दैआएको छ ।
रासस