सीताराम अधिकारी, धादिङ
कुनै पनि समानानको प्याकिङ डेट राखिन्छ । जतिखेर सामान प्याक गरिन्छ सोहि मिति प्याकिङ मिति हो तर धादिङबेसीमा प्रयोग गरिएको युनाइटेड सिमेन्टले बजारमा पठाएको सिमेन्टको प्याकिङ मिति भने उपभोक्ताले प्रयोग गरिसक्दा पनि प्याकिङ डेट नआउनेगरि राखिएको पाइएको छ ।
जिल्ला सदरमुकाममा निर्माणाधिन सरकारी भवनहरुको शहरी विकास तथा भवन डिभिजन कार्यालय धादिङको नेतृत्वमा गरिएको अनुगमनको क्रममा सिमेन्ट उद्योगहरुले गर्ने गरेको बदमासी सार्वजनिक भएको हो ।
जिल्ला सरकारी वकिल कार्यालयमा असार १९ गते ढलान कार्यगर्नका लागि असार १८ गते युनाइटेडस सिमेन्ट खरिद गरि ल्याइएको थियो । १९ गते ढलान समेत भयो । सिमेन्ट उद्योगले पठाएको सिमेन्टमा प्याकिङ मिति २०७५ असार २५ गते नेपालीमा स्पष्ट लेखिएको थियो । अनुगमनका क्रममा पुगेको टोलीले ठेकेदार कम्पनीसंग किन यस्तो भन्ने जिज्ञासा समेत राखेको थियो ।
कम्पनीमा गएर सिमेन्ट ल्याइएको हुनाले आफूहरुले कुनै संका नगरेको ठेकेदार कम्पनी कन्काइ इन्टरनेशनल विल्डर्सका सब इन्जिनियर रामेश्वर तण्डुकारले बताउनुभयो ।
नीलकण्ठ उच्च माबि र जिल्ला सरकारी वकिल कार्यालयको ठेक्काको काम गर्दै गरेको ठेकेदार सो कम्पनीले आपिसि ४ सय बोरा सिमेन्ट ल्याएकोमा सबै सिमेन्टको प्याकिङ किमति नै बजारमा उपभोक्ताले प्रयोग गरेको भन्दा पनि पछिको राखेर पठाउने गरेको खुलासा भएपछि उद्योगको सो क्षेत्रमा समेत अनुगमन आबस्याक भएको अनुगमनका लागि सहयोग गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल अन्तरगत नेपालको भुकम्प पछिको पुननिर्माणमा सदाचार कार्यक्रमका जिल्ला अधिकृत सानुबाबु तिमिल्सिनाले बताउनुभयो ।
निर्माणको चरणमा रहेका जिल्ला प्राविधिक कार्यालय, शहरी विकास तथा भवन डिभिजन कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय तथा क्वाटर भवनको अनुगमन गरिएको थियो ।
सो क्रममा निर्माणाधिन अवस्थामा रहेका भवनहरुमा प्रयोग भएका निर्माण सामाग्रीहरु राम्रो रहेको, प्राविधिकहरुबाट समय समयमा अनुगमन हुने गरेको पाइएको थियो भने भवन निर्माणको क्रममा पटक पटक गुणस्तर मापन गरिने गरिएको, संझौता अनुसार नै काम हुने गरेको, जानकारी मुलक होर्डिङबोर्ड राखिएको पाइएको थियो भने दक्ष कामदारको नियमित उपस्थित गराउन नसकेको अवस्था देखिएको छ ।
यसैगरी कामदार कम हुँदा भवन निर्माणको काममा धेरै समय लाग्ने अवस्था समेत देखिएको अवलोकनमा सहभागि शेरबहादुर भण्डारीले बताउनुभयो । जिल्ला सदरमुकाममा ११ ओटा सरकारी भवन भुकम्प पछि निर्माणाधीन छन् ।











प्रतिक्रिया