नेपाल समाचारपत्र, काठमाडौं
जुम्लामा अनशनरत प्राडा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै शनिबार माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ ।
राजनीतिक दलका नेता, विभिन्न पेसाकर्मी, चिकित्सक, विद्यार्थी र सर्वसाधारणले चिकित्सा शिक्षासम्बन्धी माथेमा आयोगको प्रतिवेदनअनुसारको चिकित्सा शिक्षा विधेयक ल्याई डा. केसीको जीवनरक्षा गर्न माग गरेका हुन् ।
नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले माथेमा कार्यदलले बुझाएको प्रतिवेदनअनुसारको विधेयक आउनुपर्नेमा जोड दिनुभयो । डा. केसी सत्यका लागि लड्ने जोगी भएकाले विज्ञकै कुरा लागू गर भनेको उहाँको भनाइ थियो । विज्ञहरुले अध्ययन गरेर दिएको सुझावलाई बेवास्ता गरी सीमित व्यक्तिको स्वार्थ पूरा गर्न सरकार लागिपरेको उहाँले बताउनुभयो ।
त्यसै गरी कार्यक्रममा चिकित्सा शिक्षासम्बन्धी नीति तर्जुमा उच्चस्तरीय कार्यदलका संयोजक प्रा. केदारभक्त माथेमाले कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न नसक्नुका कारणबारे स्पष्ट पार्न सरकारलाई आग्रह गर्नुभयो ।
‘हामीले बुझाएको प्रतिवेदन प्रष्ट र सरल छ, हामीले त्यसमा चिकित्सा शिक्षाको गुणस्तर माथि हुनुपर्छ र काठमाडौँमा धेरै नै मेडिकल कलेज भयो भनेर भनेका हौँ, त्यो भन्नुको कारण दिएका छौं’ – उहाँले भन्नुभयो ।
उहाँले काठमाडौँमा धेरै भएकाले राजधानी बाहिर मेडिकल कलेज स्थापना गरी बाहिरका जनताको पहुँचमा शिक्षा र सेवा पु¥याउन सकिने आधारमा त्यस्तो सिफारिस गरिएको बताउनुभयो ।
वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सरकारसँग वार्ता गर्न डा. केसीका पक्षबाट वार्ता समिति तयार रहेको भन्दै डा. केसीलाई बलपूर्वक काठमाडौँ ल्याउन नसक्ने बताउनुभयो । उहाँले सरकारमा बसेको व्यक्तिले आफ्नो हितमा कानुन बनाउन खोजे अपराध हुने भएकाले जनताको हितमा काम गर्न सरकारलाई आग्रह गर्नुभयो ।











प्रतिक्रिया