प्रधानमन्त्री निवास अगाडिबाट ३१ अधिकारकर्मी गिरफ्तार

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले गरेका कतिपय स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधिविरुद्ध मानवअधिकार तथा शान्ति समाजले प्रधानमन्त्री निवास वालुवाटार अगाडि आयोजना गरेको धर्नाबाट प्रहरीले ३१ जना अधिकारकर्मीलाई गिरफ्तार गरेको छ ।

हिजो शनिबार दिउँसो १ बजे आयोजित धर्नाबाट प्रहरीले कृष्ण पहाडी, डा. गंगाधर अधिकारी, होमकान्त चौलागाई, कृष्ण कँडेल, उत्तम पुडासैनी, बलबहादुर गाहा मगर, बटुकृष्ण ढुंगेल, गीता तिमल्सिनालाई गिरफ्तार गरी महानगरीय प्रहरी वृत्त सिंहदरवारमा राखेको छ ।

त्यसै गरी रामकृष्ण बराल, चन्द्रमणी बञ्जारा, विभागीय संयोजकहरु जगन्नाथ पुडासैनी, बाबुराम न्यौपाने, अञ्जना अर्याल, विपी पौडेलसनत आचार्य, सरस्वती ढकाल, दिवाकर सिलवाल, गोकर्णमणी पुडासैनी, ईश्वर पुडासैनी, गोकुल पुडासैनी, सुरज बोहरा, रेजीना राई, किरण ढकाल, भगवान पुडासैनी, दुर्गा राना पुडासैनी, टिकाराम पौडेल, टंक गैरे, रमेश बराल, अर्जुन लामिछाने, दिपक पुडासैनी र प्रमोद पौडेलसहित ३१ जनालाई गिरफ्तार गरी महानगरीय प्रहरी वृत्त सिंहदरवारमा राखेको छ ।

धर्नामा सत्याग्रही भोकै छन्: नेपाली जनता रोएका छन्, ओली सरकारको उपहार: स्वतन्त्रतामाथि प्रहार, स्वतन्त्रता विरोधी निर्णय खारेज गर, स्वेच्छाचारी गतिविधि बन्द गर, शिक्षामा माफिया चलखेल अन्त्य गर, स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर, सत्याग्रहीको जीवन रक्षा गर, अपराधीलाई संरक्षण बन्द गरलगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकारले आधारभुत स्वतन्त्रता र मानव अधिकार कुण्ठित हुने गरी कतिपय निर्णय गरेको छ भने न्यायिक निर्णयहरुलाई समेत लत्याउँदै आपराधिक चरित्रलाई संरक्षण र प्रोत्साहन गरेको छ ।

पछिल्लो चरणमा सरकार हिंसात्मक प्रवृत्तिप्रति नरम र सत्याग्रहीहरुप्रति क्रुर बन्दै गएको अवस्थामा आधारभूत स्वतन्त्रता, मानव अधिकार संरक्षणका लागि शान्ति समाजले प्रक्षेपण गरेको आन्दोलन अन्तर्गत असार २६ मा प्रधानमन्त्री कार्यालय सिंहदरबार अगाडि पहिलो धर्ना आयोजना गरिएको थियो भने तेस्रो धर्ना असार ३२ गते १ बजे नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आयोजना हुँदै छ ।