नेपाल समाचारपत्र, हेटौंडा
तरुण दल हेटौंडाले डिभिजन सडक कार्यालय हेटौंडा र नेपाल विद्युत् प्राधिकरण हेटौंडा बितरण केन्द्रमा ज्ञापनपत्र बुझाएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत् हेटौंडा–३ मा पर्ने बसामाडीदेखि तीनताप्केसम्मको बाटोमा खाल्डो गरेकाले स्थानीय एवम् आमसर्वसाधारणलाई समस्या परेको भन्दै डिभिजन सडकमा ज्ञापनपत्र बुझाइएको हो ।
राजमार्ग क्षेत्रमा भत्किएको सडकको कारण दिनहुँ दुर्घटना भइरहँदा पनि सडक कार्यालयले वास्ता नगरेको ज्ञापनपत्रमा उल्लेख छ । ‘दुर्घटनाको एकमात्र कारण सडकको दुरावस्था हो ।
राजमार्गको यस क्षेत्रमा भएको खाल्डो पुर्न स्थानीय एवम् तरुण दलले समेत बेला बखतमा सहयोग गर्दै आएको छ । तर, हामीले पुरेर पुरिने अवस्थाको खाल्डो छैन,’ तरुण दल ३ नम्बर वडा अध्यक्ष अमर लामाले हस्ताक्षर गरेको ज्ञापनमा भनिएको छ–आमसर्वसाधारण एवम् सवारीचालकले पाएको दुःखको अवस्थालाई हामीले उजागर गरेका हौं ।
एक हप्ताभित्र गुणस्तरीय पीच गरी समस्या समाधान नभएमा हामी बाध्य भएर आन्दोलनमा जानेछौं ।
वर्षात्को समय सुरु भएसँगै सडकमा परेको ठुल्ठूला खाल्डोका कारण यात्रुदेखि स्थानीय समेत समस्या भोग्न बाध्य छन् । एक हप्ताभित्र खाल्डो पुरिएन भने जनताको हितको निम्ति बाध्य भएर आन्दोलनमा जाने तरुण दलले चेतावनी दिएको छ ।
विद्युत् प्राधिकरणले दैनिक रुपमा १०÷१२ पटकसम्म विद्युत् कटौती गरेको भन्दै तरुण दलले विरोध गरेको छ । प्राधिकरणमा ज्ञापनपत्र बुझाउँदै तरुण दलले मकवानपुरको युनिलिभर फिडरअन्तर्गत् सर्वसाधारणले एक महिनादेखि विद्युत् समस्या भोग्दै आएको उल्लेख छ ।
सामान्य समस्या आउँदासमेत मर्मतका लागि ३/४ दिन लगाउने गरेको भन्दै ज्ञापनपत्रमा लड्न लागेका एवम् काठको कुहिएको बिजुलीका पोल हटाउनुपर्ने र तारसँगै जोडिन लागेका रुखहरु हटाउनुपर्ने माग गरिएको छ ।











प्रतिक्रिया