महावीरबारेको प्रवचनमा राजनीतिकर्मी


कृष्णराज गौतम/कल्पना पौडेल, काठमाडौँ ।
सधैँजसो राजनीतिक गतिविधिमा व्यस्त रहने पूर्वप्रधानमन्त्री झलनाथ खनाल आज फरक भूमिकामा देखिनुभयो ।

विभिन्न मुलुकका कुटनीतिज्ञका साथै राजनीतिक नेता तथा कार्यकर्ताहरूसँगको भेटघाटलाई थाती राखेर नेता खनालले जैन धर्मका महावीर स्वामीका जीवनदर्शनसम्बन्धि धार्मिक प्रवचनलाई सुक्ष्मरुपमा ग्रहण गर्दै कमलपोखरीस्थित नेपाल जैन परिषद्मा प्रमुख वक्ताका रुपमा सहभागी हुनुभयो ।

नेपाल जैन परिषद्ले आयोजना गरेको उक्त सभामा नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री सञ्जय गौतम पनि सहभागी हुनुहुन्थ्यो ।

भारतबाट आउनुभएका विशिष्ट धर्मगुरु महेन्द्रजी मुकीमले महावीर स्वामीले इन्द्रियलाई नियन्त्रणमा लिएर सबै मानवप्रति प्रेमको व्यवहार गरेको र संसारलाई अहिंसाको पाठ सिकाएको बताउँदै तप, संयम एवं शान्त भावको साधनाबाट लोभ, लालचबाट मुक्त भइने प्रवचन दिनुभयो ।

उहाँको प्रवचन श्रवणका लागि विभिन्न धर्मावलम्बीका प्रतिनिधिलगायतको ठूलो संख्या सभामा सहभागी भएको थियो ।

मानवता र अहिंसाका प्रवर्तक तथा जैन धर्मका २४ औं तीर्थंकर भगवान् महावीरको जन्म करिब दुई हजार ६०० वर्षअघि वैशाली गणतन्त्र हालको भारत विहारको मुज्जफरपुर जिल्लाको बसाढ गाउँमा बाबु सिद्धार्थ तथा आमा त्रिशलाका तेस्रो सन्तानका रूपमा भएको जैन धर्मावलम्बीको विश्वास छ ।

जुन समयमा हिंसा, पशुबलि, जातीय विभेदको उत्कर्ष थियो त्यही समयमा जन्मिएका महावीरले संसारलाई सत्य र अहिंसाको पाठ पढाएको भए पनि समाजले त्यसलाई निरन्तरता दिन नसकेका कारण विश्वमा हिंसा बढेको बताउँदै गुरुले सत्कर्ममा लाग्न मानव समुदायलाई आग्रह गर्नुभयो ।

वासनाका सुखलाई त्याग गर्न सक्ने, भविष्यका लागि शक्ति, सम्पत्तिको आशक्तिबाट मुक्त रही विश्व मानव कल्याणका लागि अहिंसाको सन्देश फैलाउन सकेमा समाजमा अपराधिकरणको अन्त्य हुने शिक्षा उक्त सभामा दिइयो ।

नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री खनालले सुन्दर समाज र संस्कृतिको निर्माणका लागि नेपाली समाजलाई महावीरको दर्शनको खाँचो औँल्याउनुभयो । उहाँले भन्नुभयो, “देशलाई समृद्ध बनाउन आर्थिक विकासको आवश्यकता छ, सामाजिक सशक्तीकरणका माध्यमबाट आर्थिक रुपान्तरण संभव छ, हामी त्यसतर्फ क्रियाशील छौँ ।”

महावीरले संसारलाई सत्य, अहिंसा, ब्रह्मचर्य, अपरिग्रह ९सम्पत्ति सञ्चय नगर्ने० एवं क्षमादानका बारेमा उपदेश दिएका थिए जसलाई पञ्चशीलको सिद्धान्त भनिन्छ । यसलाई सबैले पालना गर्नु जरुरी रहेको प्रवचनमा भनिएको छ । पञ्चशीलको गुणलाई पालना गर्ने प्रत्येक समाजको उन्नति हुने शिक्षा दिइएको छ ।

पूर्वमन्त्री गौतमले विश्व शान्ति तथा मानव कल्याणका लागि महावीरले देखाउनुभएको आदर्शलाई आफूले अंगिकार गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले राजनीतिमा सत्ताको मोह हुने हुँदा यस किसिमको शिक्षा राजनीतिज्ञलाई उपलब्ध गराउन आयोजक संस्थालाई आग्रह समेत गर्नुभयो ।

उक्त धर्मका दिगम्बर तथा श्वेताम्बर गरी दुई सम्प्रदायको विकास भएको छ । दिगम्बर सम्प्रदायले निर्वस्त्र भई साधनाको मार्गबाट मोक्ष प्राप्तिको विश्वास गर्दछन् भने श्वेताम्बर सम्प्रदायले सेतो वस्त्र धारण गरी ज्ञानका माध्यमबाट बोधिसत्व प्राप्त गरी मोक्षको मार्गमा लाग्न सकिने विश्वास गरेका हुन्छन् । दुबै सम्प्रदायले महावीरका अहिंसा, संयम एवं तपलाई जीवनको आदर्श मान्दछन् । जसको मनमा सदैव धर्म रहन्छ, उसलाई देवताले समेत नमस्कार गर्छन् भन्ने मान्यता लिइएको छ ।

परिषद्का अध्यक्ष फूलकुमार लालवानीले सामाजिक कुरीतिलाई न्यूनीकरण गर्न यस प्रकारका धार्मिक उपदेश र शिक्षाको महत्व रहेको विचार व्यक्त गर्नुभयो ।
रासस