नेपाल समाचारपत्र
काठमाडौँ
१० दिनदेखि जुम्लामा अनसनरत प्रा.डा.गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर भएको छ । प्रा.डा.केदार भक्त माथेमा आयोगको मर्मअनुरुप नै चिकित्सा शिक्षा बिधेयक पारित हुनुपर्ने माग राख्दै १० दिनदेखि १५ औं पटक आमरण अनसन बस्नुभएका उहाँको जीवन जोखिममा पर्दै गरेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
डा.केसीको छातीको बीच भागमा दुखाई बढेको, कमजोरी भएको, चक्कर, वाकवाकी लाग्ने, पेट दुख्ने, मांशपेशी बाउँडिने, पिसाबमा किटोन बढी ५ प्लस, सेतो रक्तकोशिका क्रमिक रुपमा घट्दै गएको, रगतमा चीनीको मात्रा घट्दै गएको , रगतमा म्याग्नेसियमको मात्रा घट्दै गएको र मुटुको चाल तल माथी भइरहेको उपचारमा संलग्न डा.प्रवीण कुमार गिरी डा.धिरज गुरुङ र डा.सिद्धार्थ खातीले जारी गरेको रिपोर्टमा उल्लेख छ ।
उहाँलाई जुनसुकै बेला संक्रमण हुन सक्ने सम्भावनालाई ध्यानमा राखी स्पेशल केयर यूनिटमा लगी उपचार गरिएको र जुनसुकै बेला आईसीयूमा सार्नुपर्ने अवस्था आउने डा.गिरीले जानकारी बताउननुभयो ।
दुईबर्ष अघि यीनै माग राखी अनसन बसेको १५ औं दिनमा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले डा केसीसँग ’काठमाडौं उपत्यकाभित्र १० वर्षसम्म मेडिकल, डेन्टल र नर्सिङमा नयाँ सम्बन्धन नदिने लगायतका सहमति गरेको थियो ।
सोही सम्झौताका आधारमा सरकारले अघि सारेको चिकित्सा शिक्षा अध्यादेशमा समेत काठमाडौंमा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नदिने उल्लेख गरिएको छ । प्रम ओलीसँग थप बोलीरहनु नपर्ने भन्दै डा.केसीले कुरा गर्नै अस्वीकार गर्नुभएको नेपाल चिकित्सक संघले जनाएको छ ।
संघबाट जुम्ला पुगेको टोलीले प्रधानमन्त्री ओलीको सचिवालयको आग्रहका आधारमा डा.केसी र प्रम ओलीबीच कुरा गराउन प्रयास जारी राखेको जनाएको छ ।











प्रतिक्रिया