लोकतन्त्रको नाममा अराजकता बढ्यो: राज्यमन्त्री अर्याल



अमृत अर्याल, स्याङ्जा ।

नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले मुलुकमा लोकतन्त्रको नाममा छाडापन र अराजकता बढेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको संयुक्त आयोजनामा गरिएको पत्रकार भेटघाट कार्यक्रममा राज्यमन्त्री अर्यालले लोकतन्त्रको नाममा छाडापन र अराजकताले मुलुकलाई घाटा पुगेको बताउनुभएको हो ।

चिकित्सा क्षेत्रमा भएको अराजकताको विषयमा १४ औं पटक अनसनमा बसेका डाक्टर गोविन्द केसीको मागलाई सरकारले कसरी हेरेको छ भन्ने पत्रकारहरुको जिज्ञासामा राज्यमन्त्री अर्यालले सबै क्षेत्रमा बेथितिको चाङ् रहेको उल्लेख गर्दै गोविन्द केसीले सरकारलाई अफठ्यारो पारेको बताउनुभयो ।

डाक्टर गोविन्द केसी सरकारको कर्मचारी हुन राजयमन्त्री अर्यालले भन्नुभयो,“सरकारको कर्मचारीले सरकारलाई अफठ्यारो पार्ने काम गर्न पाईदैन ।” सरकारको कामलाई सघाउनु पर्नेमा उल्टो सरकारलाई निर्देशित गर्ने प्रति सरकारको ध्यानाकर्षण भएको छ राज्यमन्त्री अर्यालले थप्नुभयो ।

गोविन्द केसीको माग केही जायज भएपनि सस्तो लोकप्रियताका लागि आफ्नो काम छाडेर अनशन मात्र बसीरहनु गलत भएको राज्यमन्त्रीको तर्क छ ।

लोकतन्त्रमा जे पनि गर्न पाईन्छ भन्ने अधिकारले मुलुकलाई अराजकता तर्फ धकेलेको उल्लेख गर्दै राज्यमन्त्री अर्यालले सरकारले केही क्षेत्र निषेधित गर्नु आवश्यक रहेको बताउनुभयो । सरकार सुशासनको खोजीमा रहेको बताउदै राज्यमन्त्री अर्यालले कुनै पनि सरकारी कर्मचारीले सरकारको निर्णयलाई कार्यन्वयन गर्ने हो तर सरकारलाई त्यो विधेयक ल्याउन निर्देशन दिने होइन् ।

डाक्टर गोविन्द केसीले उठाएका केही मागहरु जायज भएको बताउदै जायज मागलाई सरकार बार्ता गरेर टुङ्गाउन तयार रहेको राज्यमन्त्री अर्यालको भनाई थियो । सरकारले अगाडीको सरकारले गरेका निर्णय बदर गर्दा मुलुकमा राजनीति दन्द्ध हुदैन भन्ने पत्रकारहरुको जिज्ञासामा राज्यमन्त्री अर्यालले जनताले दिएको जनमतको अधिकार सरकारले प्रयोग गर्छ भन्दै बहुमतलाई मान्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

अघिल्लो सरकारले गरेको राजनीतिक नियूक्तिको खारेजीको बारेमा राज्यमन्त्री प्रष्ट बोल्नुभएन् । प्रदेश प्रमुख हटाएको विषयमा भने छलफलको विषय रहेको भन्दै सरकारको बचाउ गर्नुभयो ।

संविधानले नागरिकको स्वास्थ्यलाई मौलिक अधिकारका विषयमा राखेकाले जनताको औषधी उपचारमा कुनै कठिनाई नहुने राज्यमन्त्री अर्यालले दावी गर्नुभयो । सरकारले खटाएको ठाँउमा कुनै पनि डाक्टर नगएमा तुरुन्त कारवाहि हुने चेतावनी अर्यालको छ ।

प्रतिक्रिया दिनुहोस्