बाढि पहिरोमा परि मृत्यु हुनेको संख्या ५२ पुग्यो ६ जनाको अवस्था गम्भिर


राजबिन थापा, जापान ।
पश्चिमी जापानको विभिन्न क्षेत्रहरुमा निरन्तर भैरहेको बर्षाका कारण आएको बाढि र पहिरोमा परि आइतवार विहान ९ बजेसम्म कम्तिमा ५२ जनाले ज्यान गुमाएका छन् ।

पहिरो तथा खोलामा पानीको उच्च बहावका कारण अन्य ४४ जनाभन्दा बढि हराइरहेको र भेटिएका ६ जनाको अवस्था गम्भिर रहेको एनएचके अनलाइनले जनाएको छ । मृतकहरुमध्ये धेरैजना पहिरोमा परि मर्नेहरु छन् ।

प्रभावित क्षेत्रहरुमा आत्मरक्षा दल, प्रहरी तथा अग्नि नियन्त्रक कर्मचारीहरु गरि ४८००० जना खटिरहेको समाचारमा उल्लेख छ ।

सामुन्द्रिक टापु होन्सुमा भिषण बर्षाका कारण आएको आँधीहुरी, पहिरो र बाढीमा परि सो संख्यामा हताहती भएको मौसम विभागलाई उद्दृत गर्दै जापानी सञ्चार माध्यमले जनाएका छन् । सो क्षेत्रमा इतिहासकै भिषण बर्षा भएको विभागको भनाई छ । केही स्थानहरुमा जारि गरिएको इमर्जेन्सी एलर्ट पचास बर्षमा एक वा दुईपटक जारि गरेजस्तै भएको बताइएको छ ।

सबैभन्दा धेरै प्रभावित बनेको हिरोसिमा प्रिफेक्चरमा मात्र २३ जनाले ज्यान गुमाएका छन् भने २१ जना हराइरहेका छन् ।अन्य मृतकहरु ओशाका, सिगा, ह्योगो, ओकायामा, यामागुची तथा फुकुओका प्रिफेक्चरका वासिन्दाहरु रहेका छन् । त्यस्तै एहिमे प्रिफेक्चरमा मात्रै १८ जनाको मृत्यु भएको छ भने ७ जना हराइरहेका छन् । त्यस्तै हिरोसिममामा २ जना, कागोसिमामा २ जना र क्योतो प्रिफेक्चरमा २ जना अचेत अवस्थामा भेटिएका छन् ।

पूर्वी र पश्चिमी क्षेत्रमा भिषण बर्षाको जोखिम आइतबारसम्म जारी रहने मौसम विभागले जनाएको छ । भिषण बर्षाका कारण पश्चिमी शहर हिरोसीमा, ताकासीमा, यामागुची लगायत क्षेत्रका करीब १६ लाख मानिसहरु प्रभावित भएको जनाइएको छ ।

प्रभावित क्षेत्रमा जमिन जलमग्न भएको तर पहिरोका कारण घरहरु भत्किइरहेका दृष्यहरु जापानी टेलिभिजनहरुले निरन्तर देखाइरहेका छन् ।

सन् २०१४ अगस्त महिनामा हिरोसिमा प्रिफेक्चरमा भारी बर्षापश्चाच आएको बाढि र पहिरोमा परि ७७ जनाले ज्यान गुमाएका थिए । स्थानिय वासिन्दाले यसपटकको बाढि ४ बर्ष अघिको भन्दा भयानक भएको बताए ।

जापानको उत्तरपश्चिमी देखि पश्चिमी भागका धेरै स्थानहरुमा रहेका खोला तथा नदिहरुमा पानीको बहाव उच्च छ भने बस्तीहरु जलमग्न बनेका छन् । अधिकांश स्थानहरुमा हवाइ तथा सडक यातायात ठप्प बनेको छ भने सिनकानसेनहरु चलेका छैनन् ।