पूर्वराजाले मनाए जन्म दिन

0
Shares

नेपाल समाचारपत्र, बाँके
पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालगञ्जमा जन्म दिन मनाएका छन् ।

स्थानीय सोल्टी होटल प्राङ्गणमा तीन घण्टा बसेर पूर्वराजाले सर्वसाधारणको आशिर्वाद लिएका छन् । बिहान दशदेखि सवा एक बजेसम्म देशभरीबाट आएका शुभचिन्तकहरुले पूर्वराजालाई बधाई तथा शुभकामना दिएका थिए ।

पूर्वराजालाई जन्म दिनको शुभकामना दिन जानेहरु थरिथरिका थिए । पूर्वराजालाई नागरिक अभिनन्दन पत्र चढाउने, स्वस्तिक बाचन, कविता भन्नेदेखि शितल चिनीको विरुवा दिनेसम्म काम भयो । जन्मोत्सवको अवसरमा गठन गरिएका विभिन्न समितिहरुले पूर्वराजालाई नागरिक अभिनन्दन पत्र चढाउदै राष्ट्रिय स्वधिनता रक्षा र समावेशी प्रजातन्त्रका लागि राजतन्त्र अनिवार्य रहेको बताएका थिए ।

नेपालगञ्जमा गठन गरिएको जन्मोत्सव समारोहका अध्यक्ष दीपकबहादुर सिंह, काठमाडौंबाट आएका समितिका अध्यक्ष यज्ञप्रसाद आचार्यले चढाएको नागरिक अभिनन्दन पत्रमा राष्ट्रिय एकता, अखण्डताको रक्षा राजसंस्थाले मात्रै गर्न सक्ने भन्दै अहिले नेपाली जनता अभिभावकविहीन भएको उल्लेख गरेका छन् ।