नौबिसे–नागढुंगा सुरुङ मार्गको डिपिआर अध्ययन गर्दै जाइका

0
Shares

सुरेश तामाङ, काठमाडौं ।
नौबिसे–नागढुंगा सुरुङ मार्गको निर्माणकालागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) जापानी सहयोग नियोग (जाइका) पठाइएको सडक विभागले जनाएको छ ।
जापान सरकारको ऋण सहयोग बन्ने सुरुङ मार्ग निर्माणका लागि सहमति जुटाउन विभागले डिपिआर जाइका पठाइएको हो ।

कन्सल्टेन्टले बनाएको डिपिआरलाई विभागले पास गर्दै ऋण सहयोग लिन प्रकृया पुर्याउन आवश्यक रहेको भन्दै डिपिआरका बारेमा जापान सरकारको सहमतिका लागि जाइका पठाएको विभागका इन्जिनियर छविलाल पौडेलले बताउनुभयो । कन्सल्टेन्टले बनाएको डिपिआर सहमतिको लागि जाइका पठाएका छौँ । डिपिआर विभागले पास गरेर जाइका पुगेको छ,’ उहाँले भन्नुभयो ।

सहमतिका लागि विभागले ३ हप्ता अघि पठाएको डिपिआरमाथि जाइकाले अध्ययन गरिरहेको इन्जिनियर पौडेलले बताउनुभयो ।

उहाँका अनुसार अध्ययन पछि डिपिआर ठिक छ वा अलि अलि करेक्सन गर भन्ने जवाफ जाइकाबाट आउन सक्ने आशंका उहांले ब्यक्त गर्नुभयो ।

जाइकाले अध्ययन सम्पन्न गरेर डिपिआर करेक्सन गर्नु नपर्ने गरी विभागमा आएमा २ हप्ता भित्र विभाग सुरुङ निर्माणका लागि टेन्डरमा जाने तयारीमा गरेर बसेको छ । विभागलाई जाइकाले उक्त डिपिआर करेक्सन गर भन्यो भने करेक्सन गर्न १ महिना लाग्न सक्ने विभागले जनाएको छ ।

जाइकाले डिपिआर अध्ययन गरिरहेकोले कस्तो जवाफ आउने भन्नेमा विभाग अहिले पर्ख र हेरको अबस्थामा छ । यता जाइका नेपाल कार्यालयका सिनियर प्रोग्राम म्यानेजर सौरभ राणाले इस्ट्यान्डर्ड विडिङमा जान डकुमेन्ट ठिक छ कि छैन भनेर नौबिसे–नागढुंगा सुरुङ मार्गको कागजात अध्ययन गरिरहेको बताउनुभयो ।

जापानी कम्पनी निप्पोन कोइले सुरुङको डिपिआर बनाइदिएको हो भने नेपाली कम्पनी इटेको नेपालले निम्पोनसँग मिलेर काम गरेको विभागले जनाएको छ । कन्सल्टेन्टले डिपिआरको काम २०१७ को मार्च महिनाको अन्त्यतिरबाट सुरु गरेको थियो ।

देशको राजधानी प्रबेश गर्ने मुख्य नाका नागढुंगामा बन्ने उक्त सुरुङ मार्ग अन्तर्राष्ट्रिय स्तरको हुने विभागको दाबी छ । विभागले सुरुङ मार्गसम्म पुग्ने सडक बनाउन चाहिने जग्गा अधिग्रहण गर्ने तयारी गरिसकेको छ ।

विभागले सुरुङ मार्गको पूर्व पट्टि बलम्बु, महादेवस्थान, थानकोट, दहचोक लगायतका स्थानको ४ सय ३७ कित्तामा रहेको २ सय ६६ रोपनी जग्गा अधिग्रहण गर्न सूचना निकालिसकेको छ । त्यस्तै गरी विभागले धादिङ तर्फपनि यस्तै सूचना निकालिसकेको जनाएको छ ।

२.५ किलोमिटर लम्बाइ रहने सुरुङमार्ग जापानी सहयोग नियोग (जाइका) को ऋण सहयोगमा निर्माण हुन लागेको हो । सुरुङमार्ग काठमाडौंको सीतापाइलादेखि धादिङको नौबिसेसम्म निर्माण हुनेछ ।
सुरुङ मार्ग निर्माणका लागि करिब २० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । सरकारले सुरुङ मार्ग निर्माण गर्न भन्दै ५ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । जापान सरकारसँग १६ अर्बको ऋण लिने सम्झौता भईसकेको छ ।

थानकोटदेखि नागढुङ्गा हुँदै सुरुङ मार्ग धादिङको सिस्नेखोलामा निस्कने गरी डिजाइन तयार पारिएको छ । सुरुङ मार्गको सम्भाव्यता अध्ययन पनि जापानी सहयोग संस्था जाइकाले नै गरेको थियो।
करिब ५ वर्षभित्र निर्माण सकिने लक्ष्यसहित योजना अघि बढाइएको छ। सन २०१९ मा आरम्भ भएर सन् २०२२ सम्ममा पुरा लक्ष्य राखेको छ । राजधानीको मुख्य प्रवेशद्वार नागढुंगामा सुरुङ निर्माण भएमा ट्राफिक समस्या समधान हुनुका साथै त्यस क्षेत्रमा हुने सवारी दुर्घटनामा समेत कमी आउने अनुमान विभागको छ ।