डा.गोविन्द केसीको भूमिका रहस्यपूर्णःमाधवकुमार नेपाल

0
Shares

सरोज यादव, विराटनगर ।
नेकपाका वरिष्ठ नेता एवम् पूर्व प्रधानमंत्री माधव कुमार नेपालले डा. गोविन्द केसीको भूमिका रहस्यपूर्ण रहेकाले उहाँको माग सम्बोधन गर्न गाह्रो भएको बताएका छन । आज बिहान विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै वरिष्ठ नेता नेपालले मनमोहनको नामका संस्था बन्द गर्ने र विद्यार्थीहरुलाई विदेश पठाउने नियत देखिएको बताए । उनले डा. केसीलाई अनसन त्यागेर शिक्षा र स्वास्थ्यका समस्या समाधान गर्न वार्तामा आउन आग्रह पनि गरेका छन ।

उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा भईरहेको व्यापारीकरण रोक्नुपर्ने बताउदै सरकारले विस्तारै जनताको शिक्षा र स्वास्थ्यको दायित्व लिने पनि बताए । वरिष्ठ नेता नेपालले भदौ १४ गते यता तत्कालिन सरकारले गरेको निर्णयहरु खारेज गर्ने वर्तमान सरकारको निर्णय मुलुकमा सिस्टम लागू गर्न गरिएको स्पष्ट पारेका छन । उनले संक्रमण कालमा गरिने निर्णयहरु सहमति र सहकार्यमा नगर्ने गरिएकाले यस्ता समस्याहरु आउने बताए । उनले तदर्थ रुपमा गर्ने कार्यले सरकार संचालनमा अप्ठ्यारो पर्ने भएकाले यस्ता प्रवृति बदल्नु पर्ने धारणा व्यक्त गरे ।

एक प्रश्नको जवाफमा वरिष्ठ नेता नेपालले नेपाली कांग्रेसलाई अधैर्य नहुन र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गरेका छन । उनले सरकारलाई कामै गर्न नदिने गरी गरिएको निर्णयले उल्टो प्रतिपक्षलाई आरोपित गराउने बताउदै मुलुकका समस्याहरु गरिबी, बेरोजगारी, अभाव र पछौटेपन लगायतका विषयहरु अन्त्य गर्न सत्तापक्ष र प्रतिपक्ष बीच सहकार्य हुन जरुरी रहेको बताएका छन ।