बुटवल उपमहानगरद्धारा ३० विधेयक पारित



बुटवल ।
बुटवल उपमहानगरपालिकाले थप चार वटा महत्वपूर्ण विधेयकहरु जारी गरेको छ ।
उपमहानगरको जारी तेस्रो नगरसभामा प्रस्तुत भएका विधेयकहरु पारित भएका हुन । नगरसरकारका प्रमुख शिवराज सुवेदीको अध्यक्षतामा बसेको नगरसभामा आर्थिक विधेयक–२०७५, आर्थिक कार्यविधि विधेयक–२०७५, विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन विधेयक–२०७५ तथा नगर स्वास्थ्य विधेयक–२०७५ प्रस्तुत भएका थिए ।

नगरसभामा उपप्रमुख गुमादेवी आचार्यले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन विधेयक, आर्थिक समितिका संयोजक टंक पराजुलीले आर्थिक विधेयक र सीतादेवी आचार्यले नगर स्वास्थ्य विधेयक प्रस्तुत गर्नुभएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

उपमहानगरको दोस्रो नगरसभाले यस अघि विभिन्न २६ वटा विधेयकहरु पारित गरिसकेको छ । जारी नगरसभामा अहिले बजेटमाथि अन्तिम छलफल भइरहेको प्रवक्ता रेग्मीले बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि नगर उप–प्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक आचार्यले एक अर्ब ६६करोड ५० लाख १६ हजार आठ सय ३१ रुपैंयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो ।
शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बजेटको मुख्य उद्देश्य ‘सुन्दर बुटवल, समृद्ध बुटवल: खुसी बुटवलबासी’ रहेको छ । पर्यटन, कृषि, उद्योग, व्यापार–व्यवसायलाई समृद्धिको आधारका रुपमा लिंदै उपमहानगरले नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्