कर्मचारीको अभावमा स्थानीय तहमा समस्या

0
Shares

भीमदत्तनगर ।
जनप्रतिनिधि पाएको वर्षदिन बितिसक्दा पनि आवश्यक कर्मचारी नहुँदा स्थानीय तहका काम कारवाही प्रभावित भइरहेका छन् ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरले आज यहाँ आयोजना गरेको ‘स्थानीय तह र मिडिया’ विषयक अन्तक्र्रिया कार्यक्रममा कञ्चनपुर बेल्डाँडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापाले कर्मचारी अभावकै कारण समस्या भएको दुखेसो पोख्नुभयो ।

स्थानीय तहमा कर्मचारी अभावले धेरै काम प्रभावित बनेको छ, उहाँले भन्नुभयो, “ सडक, शिक्षा, खानेपानीलगायत विकास निर्माण कार्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छौं, तर आवश्यक कर्मचारी नहुँदा ती काम प्रभावित भएका छन् ।”

उहाँले दैजी–बेल्डाँडी सडक टेण्डर भएको दुई वर्षमा पनि बन्न सकेको छैन भन्दै “वडा कार्यालय स्थापना गरेर काम कारवाही अगाडि बढाएका छौं तर कर्मचारी अभावका कारण धेरै समस्या भइरहेको छ ।”

बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले स्थानीय तहमा सरकारले पठाएको कर्मचारीको संख्या र तीमध्ये आए÷नआएको विवरण पेश गर्दै “सिंहदरबार गाउँमै आएको भनेको छ, हामी जनप्रतिनिधिहरु पनि त्यहीअनुसार सुविधा खोजिरहेका छौँ भन्नुभयो ।”

नगरप्रमुख चन्दले भन्नुभयो, “एक हजार ६०० कर्मचारी सरकारले स्थानीय तहमा खटाउँदा ३०० जनामात्रै खटिएको ठाउँमा आएको स्थिति छ ।” उहाँले कर्मचारीबाट स्थानीय तहलाई असहयोग भइरहेको गुनासो गर्नुभयो ।

शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले धेरै चुनौतीका बीच आफू काम गरिरहेको बताउँदै “हामीले सबै वडामा आवश्यकताअनुसार समानखालको विकासका कार्यक्रम अघि बढाएका छौँ भन्नुभयो ।”

उहाँले भन्नुभयो, “त्यसको पारदर्शिता र नगरको सुशासनका विषयमा सञ्चारकर्मीले पनि अनुगमन गरिदिनु पर्छ ।”

सञ्चारमैत्री नगर बनाउने घोषणासहित नगरपालिकाले सञ्चार क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि बजेटको व्यवस्थासमेत गरेको नगरप्रमुख ऐरले जानकारी दिनुभयो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष खेम भण्डारीले सिंहदरबार गाउँमा आएसँगै त्यहाँको विकृति पनि गाउँमा आउनसक्नेतर्फ स्थानीय सञ्चारमाध्यम सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
रासस