एन्जिलाको एल्बम


गायिका एन्जिला गौचन सोलो गीति अडियो एल्बम एन्जिला लिएर आएकी छन्। २०६१ सालमै अ स्टोरी नामक एल्बम निकालेर गायनमा होमिएकी एन्जिलाले नयाँ एल्बम ल्याएपछि भनिन्– ‘यो मेरो पुनरागमन हो।’ एल्बम अ स्टोरीको थाहा पाएँ तिम्रो बानी बोलको गीत हिट भएसँगै व्यस्त बनेकी एन्जिला त्यसपछि एक्कासी सांगीतिक क्षेत्रबाट हराएकी थिइन्।

थकाली समुदायको एकमात्र गायिका एन्जिलाले पारिवारिक कारण त्यो समयमा सांगीतिक क्षेत्रबाट ओझेलमा परेको र अब निरन्तर संगीतमै रहने बताइन्। उनको यो एल्बममा त्यो पहिलो नजर, आजभोलि गाउँघरैमा, जुनतारा, के भो मलाई, तिम्रो आँखा बर्सिएको, न त तिम्रो दोष र एक राष्ट्रियभावको गीत देश छैन भने बोलका गीत रहेका छन्। सन्तोष मानन्धर, कल्याण सिंह, प्रतीक थापा, विक्रम थापा, निर्वाण योञ्जन र प्रमोद शेरचनको संगीत रहेको यी गीतमा शब्द रचना सन्तोष मानन्धर, राजेश श्रेष्ठ, धु्रव थापा, अरूण तिवारी, आचार्य प्रभा र उषा शेरचनको रहेको छ।